औलोका बिरामी बढ्दो

एविसि खबर
काठमाडौ, १३ वैशाख । अहिले पनि नेपालमा बर्सेनि करिब दुई हजार प्रयोगशाला प्रमाणित औलोका बिरामी भेटिने गरेका छन् । औलो रोग संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने र यो रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिम हुने चिकित्सकको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले नेपालमा खुला सिमाना र वैदेशिक रोजगारमा गएर फर्केकाबाट औलोको जोखिम भएकाले नियन्त्रणमा समस्या भइरहेको बताए । गत वर्ष नेपालमा एक हजार ३५२ औलोका बिरामी भेटिएका थिए । त्यसमध्ये ५५ प्रतिशत नेपालभित्र र बाँकी भारतमा काम गरी फर्केका र अफ्रिकी मुलुकमा शान्ति सेनामा गएका सुरक्षाकर्मीमा औलोको भाइरस भेटिएको थियो ।

निर्देशक डा मरासिनीका अनुसार सरकारले आम सर्वसाधारणलाई औलो रोगबाट जोगाउन यस वर्ष तीन लाख ८६ हजार ५३ थान झुल वितरण गर्दैछ । उनले भने , ‘कीटनाशक विषादीयुक्त उक्त झुल औलो प्रभावित जिल्लामा बसोबास गर्ने प्रतिदुई व्यक्तिमा एक थानका दरले वितरण गर्ने कार्यक्रम छ ।’ सरकारले सन् २०१८ सम्ममा देशबाट औलो नियन्त्रणमा लिने उद्देश्यअनुरुप लामखुट्टेबाट जोगाउन झुल वितरण कार्यक्रमलाई निरन्तरता दिएको हो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment