निर्वाचन क्षेत्रबाट पुनःनिर्माण सुरु

एविसि खबर
नुवाकोट, १३ वैशाख । विनाशकारी भूकम्प गएको आइतबार एक वर्ष पुगेको स्मरणमा नुवाकोटका तीन वटा निर्वाचन क्षेत्रबाट पुनःनिर्माण अभियानको घोषणा गरिएको छ । क्षेत्र नं १ को रातमाटे, क्षेत्र नं २ को खरानीटार र क्षेत्र नं ३ को चारघरेबाट निजी आवास अनुदान सम्झौता सुरु गरी निजी आवास निर्माण अभियान सुरु भएको घोषणा गरिएको हो । भूकम्पबाट नुवाकोटमा भत्केका झन्डै ७२ हजार निजी घर पुनःनिर्माण गर्नुपर्ने सरकारी तथ्याङ्क रहेको छ ।

क्षेत्र नं १ को रातमाटेमा आयोजित कार्यक्रममा सो क्षेत्रका सांसद एवम् काँग्रेस नेता अर्जुननरसिंह केसीले रातमाटे गाविस–१ का ठूलोकृष्ण लामालाई आवास अनुदानको सम्झौता हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका छन् । कार्यक्रममा नेता केसीले एकै परिवार भूकम्पपछि छुट्टिएर चार परिवारसम्म भएकाले राहत वितरणमा समस्या भएको बताउँदै वास्तविक पीडितलाई यस्ता गतिविधिले बाधा पर्ने हुँदा निःस्वार्थ हुन आग्रह गरे ।

उनले राष्ट्रिय विपद्को बेलामा राजनीतिबाट माथि उठेर जुनसुकै दलको पीडित भए पनि सहयोग गर्न चुक्न नहुने बताएका छन् । नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले भूकम्पपीडितको घर निर्माणको लागि दिइने अनुदान रकम दिन केही समय ढिला भए पनि सरकारले अब तीव्र गतिमा पुनःनिर्माण अभियान थाल्नेमा आफू विश्वस्त रहेको बताए । गाविस सचिव रामशरण भण्डारीले रातमाटे गाविसमा एक हजार १ एक सय ४८ घर भूकम्पबाट भत्केको तथ्याङ्क गाविससँग रहे पनि पछिल्लो तथ्याङ्क घटेर ८ सया ९५ जनाले घर निर्माणको लागि दुई लाख प्राप्त गर्ने नामावली कार्यालयमा प्राप्त भएको बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment