एक एसएमएसले सुरक्षित भयो वैदेशिक रोजगार

समाचार

संगीता राई
खोटाङ, १२ बैशाख । बैदेशिक रोजगारीमा जाने निधो भईसकेपछि खोटाङ खार्मी–१ का धनसिंग राईलाई ९५ हजार रुपैयाँ म्यानपावरलाई बुझाउन कुनै आपत्ति भएन । धनसिंगले युएई जानका लागि जालपा गाबिसमा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाबाट बैदेशिक रोजगारी शीर्षकमा एक लाख रुपैंयाँ ऋण लिएर ठीक्क पारे । रकमको जोहो भएपछि आफन्त पर्ने अबैधानिक एजेण्टको सल्लाहबमोजिम दिदी सम्पुर्ण राईसँग काठमाण्डौ लागे । राईको आफन्त पर्ने एजेण्टले ९५ हजार रुपैंयाँ नै मागेका थिए । बिना सीपतालिम नै बिदेश जान तम्सिएका राईले पासपोर्ट बुझाएको म्यानपावर कम्पनीमा भिषा प्रक्रिया पनि भईसकेको थियो ।

हुनु त धनसिंग सदरमुकाम दिक्तेलमा पासपोर्ट बनाउँन आउँदा जनसेवा समाज नेपाल जालपाद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी)को सुचना केन्द्रमा पसेका पनि थिए । तर परामर्शकर्ताको परामर्शलाई उति सारो ख्याल गरेनन् क्यारे ।

पैसा बुझाउन अगाडी धनसिंगले सुचना केन्द्रलाई वास्ता नगरे पनि उनका दिदी सम्पुर्ण राईले दिक्तेलस्थित सुरक्षित आप्रवासन परियोजना सुचना केन्द्रलाई सम्झिईन् । सम्पुर्णले तुरुन्त फोन गरेर सुचना केन्द्रका परामर्शकर्ता शहरमान राईबाट परामर्श लिन थालिन् । सम्पुर्णले म्यानपावर कम्पनी, पाउने तलब तथा सेवा–सुबिधा, एजेण्ट म्यानपावरले मागेको लागत रकमलगायतको बिबरण बारे जानकारी गराईन् । जानकारी पाउन साथै परामर्शकर्ता शहरमानले धनसिंगको पासपोर्ट नम्बर मागेर मोबाईलको म्यासेज बक्समा मउ टाईप गरी एक स्पेश छाडेर पासपोर्ट नम्बर टाईप गरी ३४००१ मा पठाए । जब मोबाईलमा म्यासेजको रिप्लाई आयो तब धनसिंगको भाग्य खुल्यो ।

एजेण्ट र म्यानपावर कम्पनीले जे भने पनि धनसिंगको साधारण कामदारका रुपमा युएईको भिषा लागेको, उनले पाउने मासिक तलब ८ सय दिराम र जाँदा लाग्ने लागत खर्च शुन्य रुपैंयाँ । यानेकी फ्रि भिषा फ्रि टिकट ।

२ छोरीकी बाबु धनसिंगको लागि नेपाल सरकारले लागु गरेको फ्रि भिषा फ्रि टिकटको बारे न त जानकारी थियो । न त म्यानपावर र एजेण्टले नै उनलाई यसबारे जानकारी दियो । अन्तिम श्रम स्विकृति लिईसकेको अवस्थामा मोबाईलको म्यासेज बक्समा मउ टाईप गरी एक स्पेश छाडेर बैदेशिक रोजगारमा जान तयार रहेका ब्यक्तिका पासपोर्ट नम्बर टाईप गरी ३४००१ मा पठाउँदा तलब, सुबिधा तथा लागत बिबरण बैदेशिक रोजगार बिभागबाट जानकारी हुने कुरा धनसिंग र उनका दिदीलाई बल्ल प्रष्ट भयो । फ्रि भिषा फ्रि टिकट भए पनि लाईसेन्सबिहिन एजेण्ट र युएई पठाउने म्यानपावरले ९५ हजार रुपैंयाँ खान लागेको कुरा पत्तो पाई कुनै पनि हालतमा लाग्ने भन्दा बढी रकम दिन उनीहरु तयार भएनन् । सुचना केन्द्र र एक एसएमएसले ऋण लिएको त्यति ठुलो रकम बचेकोमा उनीहरु खुशी भएको परामर्शकर्ता शहरमान राईको भनाई छ ।

परामर्शकर्ता राईका अनुसार हालै मात्र १० हजार रुपैंया बुझाएर काठमाण्डौंस्थित लाईफ ईन्टरनेश्नल म्यानपावर कम्पनीबाट धनसिंग युएई पुगी काममा लागिसकेका छन् । उनले सुचना केन्द्रका परामर्शकर्तालाई निरन्तर सम्पर्क गरिरहेका छन् ।

नेपाल सरकार मन्त्री परिषद्ले गरेको निर्णयअनुसार बैदेशिक रोजगार ब्यवसायीले कामदारलाई बिदेश पठाएबापत कामदारबाट बढीमा १० हजार रुपैंयाँ मात्र लिन पाउने ब्यवस्था छ । जिल्लाबाट बिदेश जाने अधिकांश कामदारले लागतभन्दा बढी रकम म्यानपावर तथा दलाललाई बुझाउँर्दैै आएका छन् ।

Facebook Comments

Leave a Reply