भूकम्पले पर्यटनमा नकारात्मक प्रभाव

वैशाख १२, २०७३- सन् २०१४ मा नेपालमा कुल ७ लाख ९० हजार १ सय १८ पर्यटक भित्रिएका थिए । तर सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० मात्रै भित्रिए । २०१४ को तुलनामा २०१५ मा २ लाख ५१ हजार १ सय ४६ जना अर्थात् ३१.७८ प्रतिशत पर्यटक घटे । यसको मुख्य कारण थियो– गत वर्षको महाभूकम्प ।

भूकम्पले विश्व सम्पदा सूचीमा परेका ऐतिहासिक धरोहरदेखि ट्रेकिङ ट्रेल, होम स्टे, होटलमा क्षति पुगेपछि पर्यटन क्षेत्र नै धराशयी बन्न पुग्यो ।

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेका गन्तव्यमा भूकम्पले बढी क्षति पुर्‍याएपछि व्यवसाय नै चौपटमा पर्‍यो । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार गत मे, जुन र जुलाई तीन महिनामा नेपालमा घुम्न आउने पर्यटकको संख्या ७२ प्रतिशतले घटेको थियो ।

नेपाल आउने पर्यटकको रोजाइमा पर्ने गन्तव्यहरू सगरमाथा क्षेत्र, लाङटाङ, मनास्लु, रोल्वालिङ पदमार्ग, होटल, होम स्टे, मठ मन्दिरमा बढी क्षति पुगेको छ ।

सन् २०१४ को अप्रिल २५ देखि जुन १५ सम्म महिनामा ९२ हजार तीन सय २३ जना पर्यटक आएका थिए भने २०१५ को सोही अवधिमा २६ हजार ५ सय ९४ जना पर्यटक मात्रै नेपाल भ्रमणमा निस्किए ।

अध्यागमन विभागका अनुसार गत अप्रिल २५ मा गएको भूकम्पका कारण अप्रिल २५ देखि ३० सम्म नेपालमा आउने पर्यटक ९० प्रतिशतसम्म घटेका थिए ।
२०१५ को अप्रिलमा नेपालमा ६५ हजार सात सय २९ जना, मे महिनामा १७ हजार पाँच सय ६९ जना नेपालमा घुम्न आएका थिए । जुनमा १८ हजार ३ सय ६८ पर्यटक नेपाल घुम्न आएको तथ्याङ्क छ ।

जुलाईमा २२ हजार ९ सय ६७ र अगस्टमा ३८ हजार ६ सय ६ जना पर्यटक नेपाल भित्रिएका थिए । यी तथ्याङ्क हेर्ने हो भने भूकम्प गएको महिनापछि बिस्तारै पर्यटक भित्रने क्रम बढेको छ ।
भूकम्पलगत्तै पर्यटकले नेपाल आउने टिकट बुकिङ/भिसा स्थगन गरेको कारण लगभग ९० प्रतिशत पर्यटक घटेको विभागको भनाइ छ । यो अवधिमा नेपालमा घुम्न आउने पर्यटकमा सबैभन्दा धेरै भारतबाट आए । त्यसबाहेक चीन, अमेरिका, दक्षिण कोरिया, बेलायत, जापान, ताइवानलगायतका देशबाट आएका छन् । सबैभन्दा कम अर्जेन्टिना, मेक्सीको, चिली, म्यानमार, र डेनमार्कबाट आए ।

भूकम्पलगत्तै केही पर्यटक भूकम्पपीडितको उद्धारका लागि आएका थिए भने केही घुम्नकै लागि । बोर्डका सीईओ जोशी भन्छन्, ‘हामीले त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिएका सबैलाई पर्यटक मानेका छौं । यीमध्ये कति उद्धारका लागि आएका छन् । कति विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी पनि छन् ।’

यो वर्ष स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या नगन्य रहेको जोशीले बताए । उनले भने, ‘भारतीय भूमि हुँदै नेपालको लुम्बिनी आउँछन् । तर उनीहरू उही दिन फर्कन्छन् । त्यसैले हामीले त्यस्ता पर्यटकलाई सूचीमा राख्दैनौं ।’

अप्रिल/मेमा अन्य मौसमको तुलनामा बढी पर्यटक आउने गर्छन् । जोशीले भने, ‘वसन्त ऋतुमा आउने पर्यटक घटे । शरद ऋतुमा पनि नाकाबन्दीले फेरि धक्का पुर्‍यायो र पर्यटकको संख्यामा कमी आयो ।’

गर्मी सकिएर जाडो सुरु हुने र जाडो सकिएर गर्मी सुरु हुने समयलाई नेपाल घुम्न उपयुक्त मानिन्छ । जुन समयमा पर्यटकहरू हिमाल आरोहण, ट्रेकिङ, र्‍याफ्टिङ लगायतका गतिविधि गर्न रुचाउँछन् । १२ वैशाखको भूकम्पले देशमा परेको कुल आर्थिक क्षतिको ३५ देखि ४० प्रतिशत क्षति पर्यटन क्षेत्रमा परेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

भूकम्पले पर्यटन क्षेत्रमा काम गर्ने ५ लाख मानिसको रोजगारमा प्रत्यक्ष असर गरेका नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए । उनका अनुसार ४० हजार प्रत्यक्ष मारमा परेका छन् । उनका अनुसार भूकम्पले पर्यटनमा लगानी गरिरहेका व्यवसायीलाई मार पारेको छ । उनीहरूले कर्मचारीलाई तलब दिन, बैंकको ऋण र घरभाडा तिर्न नसकेको बताए । शेर्पाले भने, ‘पर्यटक नै नआएपछि कति व्यवसायी व्यवसाय नै छाड्ने मनस्थितिमा थिए । अब बिस्तारै रिकभर हुँदै छ ।’

वसन्त ऋतुमा नेपालमा आएका पर्यटकमध्ये अधिकांश नेपाल हुँदै कैलाश ( मानसरोबर) जान आउँथे । तर उक्त ठाउँमा जाने सिन्धुपाल्चोकको तातोपानी नाका ध्वस्त भएकाले कोही जानै सकेनन् । यो बाटो हुँदै बढी भारतीय पर्यटक मानसरोवर जाने गर्छन् ।

गत वर्ष सगरमाथामा ३ सय ३५ जनाले सगरमाथा आरोहणको अनुमति पाए पनि भूकम्पले बाटोमा क्षति पुगेकाले आरोहण नै रद्द भयो । यो वर्ष २ सय ८४ जनाले आरोहणका लागि अनुमति लिइसकेका छन् । शेर्पाका अनुसार ३२ टोली सगरमाथा आरोहणका लागि निस्किसकेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाले ‘बिगार्‍यो’
नेपालमा भूकम्प गएपछि यसबारे रिपोर्टिङ गर्न आएका अन्तर्राष्ट्रिय मिडियाले दिएको समाचारको प्रभावले नेपालमा पर्यटक कम भित्रिएका हुन् । ‘नेपाल ‘ध्वस्त’ भयो भन्ने नकारात्मक समाचार सम्प्रेषण गरेकाले पर्यटक आउन कमी भएको हो,’ सीईओ जोशीले भने, ‘यसले गर्दा नेपाल असुरक्षित छ भन्ने सन्देश गयो । र पर्यटक नेपाल आउन डराए ।’

यसका लागि सरकार र बोर्डले फेरि अन्तर्राष्ट्रिय मिडियालाई बोलाएर नेपाल सुरक्षित छ भन्ने सन्देश दिन जरुरी भएको उनले बताए ।

नकारात्मक समाचारको सम्प्रेषण नि:शुल्क र धेरै भएकाले अन्तर्राष्ट्रिय जगत्मा नेपालप्रति गलत धारणा विकास भएको उनले बताए । अब सकारात्मक समाचार दिन भने शुल्क तिर्नुपर्ने बाध्यता रहेको उनले बताए । भने, ‘अब हामीले नेपाल सुरक्षित छ भनेर समाचार प्रकाशन तथा प्रसारण गर्न भन्यौं । तर महँगो शुल्क लाग्ने भयो ।’

६२ अर्ब क्षति
भूकम्पले नेपालको पर्यटन क्षेत्रमा करिब करिब साढे ६२ अर्ब रुपैयाँको क्षति भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रबाट होटल संघ नेपाल, होमस्टे एसोसिएसन, ट्राभल तथा ट्रेकिङ एजेन्सिज, नेपाल पर्वतारोहण संघ, पुरातत्त्व विभागसहितका निकायबाट तथ्यांक संकलन गरेको हो । प्रभावित क्षेत्रका विभिन्न जिल्लामा गरी १६ हजार २ सय ९५ वटा होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगको छ ।

होटल क्षेत्रमा मात्रै १६ अर्ब रुपैयाँको क्षति भएको तथ्यांकमा उल्लेख छ । भूकम्पले देशभरका २२ सय १५ होमस्टेमा पुगेको क्षतिले करिब एक अर्ब ७२ करोड रूपैयाँको नोक्सान भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार टुर अपरेटर्सको एक महिनाको एक अर्ब ९८ करोड, ट्रेकिङ एजेन्सीको मेदेखि सेम्टम्ेबरसम्मको तीन अर्ब ५१ करोड, पदयात्रा मार्गमा ३६ करोड ६१ लाख र पर्वतारोहण क्षेत्रमा एक अर्ब रुपैयाँको नोक्सानी भएको छ ।

नेपालमा आउने पर्यटकले दिनमा सरदर ४७ डलर खर्च गर्छन् भने बढी १३ दिनसम्म बस्ने गर्छन् ।

सात हजार ८ सय ७५ वटा पुरातात्त्विक संरचनामा ९ अर्ब २८ करोड र ५३ सय वटा गुम्बा, मन्दिर तथा मस्जिदमा करिब ६ अर्ब रुपैयाँको क्षति पुगेको छ ।

यस्तै भूकम्पले ४ सय २६ वटा ट्रेकिङ ट्रेलमा क्षति पुगेको छ । जसले ६ अर्ब १३ करोड रुपैयाँ बराबरको नोक्सानी बेहोर्नुपरेको छ ।

३५ देशका ६६ पर्यटकको मृत्यु १२ गतेको विनाशकारी भूकम्पमा परेर ३५ देशका ६६ जना पर्यटकले मृत्यु भयो ।

क्षति पुगेका पर्यटक क्षेत्र
१. लाङटाङ
२. मनास्लु
३. बारपाक
४. काठमाडौं उपत्यकाको सम्पदा
५. रोल्वालिङ

(Ekantipur बाट साभार) 

http://kantipur.ekantipur.com/news/2016-04-24/20160424144850.html

Facebook Comments

सम्बन्धित

Leave a Comment