भूकम्प डायरी (कबिता )-विप्लव ढकाल

हाम्रा नानीहरु पुरिएका छन् यो धूलोमा

सुस्तरी हिँड्नुहोस् किनारबाट !

………………………….
तपाई जहाँ उभिएर
खिचिरहनुभएको छ हाम्रो फोटो,
त्यहीँ पुरिएका छन्
हाम्रा ढिकी, जाँतो र आरनहरु !
तपाईँ जहाँ उभिएर
लेखिरहनुभएको छ हाम्रो समाचार,
त्यहीँ पुरिएका छन्
हाम्रा नानीहरुका किलिप, रिबन र पेन्सिलहरु !
र तपाईँ जहाँ उभिएर
बाँडिरहनुभएको छ चाउचाउ,
हो, त्यहीँनेर पुुरिएका छन्
हाम्रा असङ्ख्य प्रियजनका रगत र आँसुहरु !
हाम्रो इतिहास पुरिएको छ यहाँ !
हाम्रा मन्दिर, मस्जिद,
गुम्बा र गिर्जाघरहरु पुरिएका छन् !

…………………………………….
तपाईँ राता पालहरु लिएर आउनुभयो
चाउचाउ, चिउरा
र क्यामराहरु लिएर आउनुभयो
हामी शिर झुकाएर धन्यवाद भन्छौँ—
तपाईँ हामीलाई सम्झिएर
यहाँसम्म आउनुभयो !
हाम्रो आँसुको ढिकाले
तपाईँको क्यामराको लेन्स भिज्ला कि भनेर
सुस्तरी सुस्तरी रोइरहेका छौँ हामी !
तपाईँले कविता लेख्ने कापीको पन्नामा
रगतको दाग लाग्ला कि भनेर
हामी सुस्तरी सुस्तरी
निकालिरहेका छौँ
आमाको लास !

……………………….
मध्य दिनमा
एउटा धमिलो आकाशबाट खसेर
धरतीको यही धूलोमा पुरिएको थियो
हाम्रो शिरमाथिको सूर्य !
अब हामी चिहानको धूलो खोस्रिएर
बटुल्नेछौँ उज्यालोका कणहरु !
किताबका पानाहरुबाट अनायास झरेका
अक्षरहरु टिपेर
अब हामी फेरि बनाउनेछौँ
जीवनका सुन्दर वाक्यहरु !
बाँसका खुट्टाहरु टेकेर उभिनेछन्
हाम्रा आस्था र सपनाहरु !
हामी बाँचेकाहरु बाँच्नेछौँ
र बनाउनेछौँ विश्वासको बाटो !
हेरिराख्नुहोस्—
यही जमीन चिरेर निस्कनेछ
आत्माको शक्ति !

……………………….
हाम्रा आमाहरु पुरिएका छन् यो धूलोमा !
अन्यथा नमान्नुहोला—
सुस्तरी हिँड्नुहोस् जमीनबाट !

Facebook Comments

सम्बन्धित

Leave a Comment