साँखुका बालबालिका माझ ‘फलैँचा संगीत’

एविसि खबर
काठमाडौं, १० वैशाख । ‘फलैँचा संगीत’ अभियानअन्तर्गतको १८औँ शृंखला बुधबार राजधानीको साँखुस्थित ‘पिए नेपाल’का बालबालिकामाझ प्रस्तुत भएको छ । नेपालकी पहिलो सरोदवादक रुपा न्यौपानेको सरोद वादनबाट सुरु भएको कार्यक्रममा कुलराज थापाले तान्पुरा र जगन्नाथ धौगोडाले तबलासहित मंगलधुन, भजन, गीतलगायत विभिन्न धुनहरू प्रस्तुत गरेका छन् ।

सरोद वादनमा पिए नेपालको बारेमा रुमु न्यौपानेले रचेको १ गीत वृन्दावनी रागमा प्रस्तुत हुँदा बालबालिका दंग देखिएका छन् । कार्यक्रमलाई निकै चाखपूर्वक सुनिरहेकी शोभा मगरले मंगलधुनदेखि आफ्नो घर र आमाको बारेमा बनाइएको गीत आफूलाई असाध्यै मन परेको प्रतिक्रिया दिएकी थिइन् । उनीसँगै संगीत सुनिरहेका न्युजिल्यान्डका दम्पत्ती ह्यान्स मुल्डर र इनेका मल्डरले पनि सरोदको धुनको प्रशंसा गरे । यस्ता धुनले बालबालिकामा सकारात्मक प्रभाव पार्ने बताउँदै उनीहरूले यस्ताखाले कार्यक्रम गरिराख्न आयोजकलाई सुझाव दिए ।

शास्त्रीय सांगीतिक कार्यक्रमले बालमनोविज्ञानमा राम्रो असर छोड्ने संस्थाकी संस्थापक इन्दिरा रानामगरले बताइन् । सरोद बाजालाई सबैमाझ चिनाउने उद्देश्यले सुरु गरिएको फलैँचा संगीत अभियानअन्र्तत पिए नेपालका बालबालिकामाझ कार्यक्रम गर्न पाउँदा मनमा आनन्द आएको सरोदवादक न्यौपानेले बताइन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment