भूकम्पको स्मृतिमा ‘कन्सर्ट’

एविसि खबर
काठमाडौं, ९ वैशाख । ‘गोर्खा भूकम्प’को वार्षिक स्मृतिमा आगामी ११ वैशाखमा राजधानीको भृकुटीमण्डपमा निःशुल्क ‘कन्सर्ट’ (सांगीतिक कार्यक्रम) हुने भएको छ । अमेरिकी राजदूतावासको आयोजनामा हुने ‘कला दूत कार्यक्रम’ नाम दिइएको उक्त ‘कन्सर्ट’ ‘हिप–पप संस्कृति’ र नेपाली युवाको सक्रियताबीच सम्बन्ध स्थापना गर्न गरिन लागिएको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जापानी मूलकी अमेरिकाकी चर्चित ‘हिप–पप’ गायिका आइशा फुकुशिमासहित नेपालको चर्चित ब्यान्ड ‘१९९४ एडी’, ‘हिप–पप गायक’ निर्णय श्रेष्ठ (द एनएसके) र गायिका समृद्धि राईको प्रस्तुति हुनेछ । त्यस्तै, वैशाख १७ गते पोखराको बसुन्धरा पार्कमा नेपाली ब्यान्ड रवीन एन्ड द न्यू रिभोलुसन र मिलन एन्ड द ब्यान्डले फुकुशिमालाई साथ दिनेछन् । पत्रकार सम्मेलनमा गायिका फुकुशिमाले संयुक्त राज्य अमेरिकामा सामाजिक र राजनीतिक अभिव्यक्ति तथा परिवर्तनका लागि ‘हिप–पप’को प्रयोग हुने गरेको बताइन् ।

‘१९९४ एडी’ ब्यान्डका सदस्य मनोज केसीले संगीतले सबैलाई एकै ठाउँमा ल्याउने भएकाले युवालाई जागरुक बनाउँदै पुनर्निर्माणमा प्रोत्साहित गर्न ‘कन्सर्ट’ गर्न लागिएको बताए । त्यसैगरी, वैशाख १२ गते भूकम्पबाट ज्यान गुमाएकाको सम्झनामा भक्तपुर दरबार परिसरमा अर्की जापानी गायिका आवइ सानको सांगीतिक प्रस्तुति हुने भएको छ । उनले भक्तपुर क्षेत्रका भूकम्पपीडितलाई करिब हजारको संख्यामा सित्तैमा सौर्यबत्ती वितरण गर्ने कार्यक्रम छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment