दाहालको नेतृत्वमा राष्ट्रिय सरकार : किराती

राजनीति

एविसि खबर
काठमाडौं, १० वैशाख । एमाओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले मुलुकमा विद्यमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एउटा साक्षात्कार कार्यक्रममा उनले देशमा दिगो शान्ति तथा समृद्धि ल्याउन मधेस आन्दोलन, पुनर्निर्माण र शान्ति प्रक्रियाको विषयमा सबै दलको धारणा लिएर राष्ट्रिय सरकार निर्माण गर्न आफ्नो पार्टीभित्र छलफल थालिएको बताए ।

नेता किरातीले भने, ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । त्यो हुन नसके नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बनाउन सकिन्छ ।’ उनले वर्तमान सरकारले देशको समस्या तथा जनताको चाहना पूरा गर्न नसकेको बताउँदै अब पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने विचार व्यक्त गरे । क्रान्तिमा भएको क्षतिको पूर्ति गर्न माओवादी पार्टीहरूबीच एकता हुनुपर्ने उनको भनाइ थियो ।

Facebook Comments

Leave a Reply