बलिउड अभिनेताहरूको समाजसेवामा होड

एजेन्सी
मुम्बई, १० वैशाख । भारतका चर्चित अभिनेताहरूले समाजसेवामा आफ्नो कमाइ लगाउन थालेका छन् । बलिउडका अभिनेताहरू अक्षय कुमारदेखि अमिर खानसम्म समाज सेवाका लागि होडबाजीमा रहेका हुन् ।

भारतको महाराष्ट्रको केही गाउँमा अहिले भयंकर सुख्खा लागेको छ । २ छाक खान नपाउने किसान त धेरै र पानीको समेत उत्तिकै हाहाकार रहेको बेला बलिउड नायक अक्षय कुमारले उनीहरूलाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

यसो त अक्षयले सामाजिक काममा रकम खर्चिएको यो नै पहिलोपटक भने होइन । यसअघि पनि महाराष्ट्रमा आत्महत्या गरेका १ सय ८० किसानका परिवारका लागि उनले ९० लाख रुपैयाँ दिएका थिए ।

गर्मी बढेसँगै महाराष्ट्रमा अहिले खानेपानीको हाहाकार सुरु भएको छ । १ गाग्री पानीको लागि घन्टौँ टाढा जानुपर्ने स्थिति छ भने पेटभरि पानी खान नपाउनेहरू धेरै छन् । महाराष्ट्रका किसानका लागि नायक शाहरूख खानले पनि रकम सहयोग गरेका छन् । तर, शाहरूखले च्यारेटीलाई प्रचारमा नल्याउने भएका कारण कति रकम सहयोग गरे खुलेको छैन ।

यस्तै अर्का बलिउड नायक आमिर खानले पनि महाराष्ट्रको सुख्खा प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणपछि उनले ताल र कोरेगाउँ २ गाउँको जिम्मा लिने भएका छन् । ती २ गाउँको स्थिति सबैभन्दा खराब छ । त्यसो त सन् २००१ मा गुजरातमा आएको भूकम्पपछि पनि आमिर गुजरात पुगेका थिए । महाराष्ट्रको दयनीय अवस्था बारे सबैभन्दा धेरै कुरा उठाउने नायकको रूपमा चिनिन्छन् नाना पाटेकर । पानीको कमीको कारण महाराष्ट्रको स्थिति नाजुक भएको उनको भनाइ छ । उनले यो विषयमा ध्यान दिन सरकार र मिडियालाई आग्रह पनि गरेका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment