पुरानो बसपार्क अब खुलामञ्चमा

समाज

एविसि खबर
काठमाडौं, १० वैशाख । राजधानीको सबै भन्दा पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गरिने भएपछि वसपार्क सर्ने भएको छ । काठमाडौं टावरको निर्माण अवधिभर पुरानो बसपार्कमा रोकिन आउने र त्यहाँबाट छुट्ने सवारीहरूको व्यवस्थापन खुलामञ्चबाट गरिने भएको हो । टावर निर्माण अवधिमा मात्र खुलामञ्चमा यातायातको साधन राखिने कामपाले जनाएको छ ।

काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार टावर निर्माणका लागि हाल खुलामञ्चमा जस्ताले बार्ने काम भइरहेको छ । उक्त काम सकिनेबित्तिकै यातायातका साधनलाई स्थानान्तरण गरी टावर निर्माणको काम सुरु गरिनेछ । ‘टावर निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि टावरको संरचना फरक भएकाले निर्माण प्रक्रिया ढिला भएको हो’, प्रवक्ता कार्कीले भने ।

भूकम्प पूर्वको योजनाअनुसार टावर २९ तला बनाउने तयारी रहेको थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाइनेछ । अहिले १२ तलाको बनाउने नक्सालाई स्वीकृति दिइएको छ । प्रस्तावित सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तथा वातावरणीय प्रभाव मूल्यांकनसमेत तयार भइसकेको कामपाले बताएको छ ।

राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार उक्त टावर निर्माणका लागि जलेश्वर, स्वच्छन्द र विकोइसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउनेछन् ।

काम सुरु भएको ५ वर्षभित्र सो टावर बनाइसक्नुपर्नेछ भने त्यसपछिका २५ वर्ष सञ्चालन अवधि रहनेछ । यो टावर नेपालमा अहिलेसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ ।

सो टावरको लागत ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान महानगरपालिकाले गरेको छ । भवनको सबैभन्दा तल्लो तलामा बसको पार्किङ रहनेछ । त्यसमाथिका २ तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । नेपाली कला र संस्कृतिको झलक सो भवनमा देख्न पाइनेछ ।

Facebook Comments

Leave a Reply