चलचित्र विकासबोर्ड कलाकारको वर्गीकरण गर्दै

काठमाडौं, ८ बैसाख । नेपाल सरकारले चलचित्रका क्षेत्रमा लामो समययता काम गर्दै आएका कलाकारहरुलाई बर्गीकरण गरेर परिचय पत्र वितरण गर्न सुरुवात गरेको छ । विकास बोर्डले फिल्मकर्मीलाई तीन श्रेणीमा वर्गीकृत गरेको हो ।

बर्गीकरणमा विशिष्ट चलचित्रकर्मी, वरिष्ठ चलचित्रकर्मी र चलचित्रकर्मी गरी तीन तह निर्धारण गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले सोमबार काठमाडौंमा चलचित्र विकास बोर्डमार्फत १३ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र वितरण गरिसकेको छ ।

सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सैद्धान्तिक रुपमा कलाकारलाई परिचयपत्र नचाहिए पनि व्यावहारिक रुपमा आवश्यक देखेर परिचयपत्र वितरण गरिएको जानकारी दिएका छन् । उनले फिल्म क्षेत्रमा विशिष्ट योगदान दिएका फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र दिएको जनाए । उनले भने, ‘जसले जुनस्तरको योगदान दिएका छन्, तिनलाई त्यही स्तरका परिचयपत्र दिनेछौं, परिचयपत्रलाई कलाकारले सकारात्मक रुपमा लिएकाले हामी उत्साहित छौं । यसको कार्यविधिलाई थप परिमार्जन गर्दै लगिने छ ।’

सरकारले भविष्यमा विशिष्ट चलचित्रकर्मीका लागि भत्ताको समेत व्यवस्था गर्नसक्ने संकेत दिएका थपलियाले भने, ‘हामी अहिले चलचित्रकर्मी वृत्ति कोष स्थापना गर्ने प्रक्रियामा छौं, कम्तिमा विशिष्ट श्रेणीका चलचित्रकर्मीलाई केही न केही दिलाउने पहल हुनेछ, ।’ उनले चलचित्र विकास बोर्डलाई नीतिगत र वित्तीय रुपमा छिट्टै स्वायत्त निकाय बनाउन आपूm लागिपरेको कुरा दोहा¥ेयाए । बोर्डलाई दलीय राजनीतिको दलदलबाट मुक्त गर्नुपर्ने उनको भनाइ रहेको छ ।

विशिष्ट, वरिष्ठ र सामान्य श्रेणीका परिचयपत्र क्रमश रातो, नीलो र हरियो रङमा दिइनेपनि उनले जनाएका छन् । कार्यविधिले निर्धारण गरेका मापदण्ड अनुसारनै फिल्मकर्मीलाई वर्गीकरण गरिएको परिचयपत्र सिफारिस समितिका सदस्यसचिव हरिहर शर्माले बताए । सयौं कलाकारका विवरण हामीलाई प्राप्त भएको छ, ती सबैको अध्ययन तथा अनुसन्धान गर्न समय लाग्ने रहेछ,’ उनले भने, ‘अहिले परिचयपत्र छाप्दाछाप्दै सुरुवात भइहालोस् भनेर सांकेतिक रुपमा मात्र परिचयपत्र वितरण गरेका हौं, सबै कलाकारले परिचयपत्र पाउनेछन् ।’

चलचित्र विकास बोर्डले ल्याएको परिचयपत्रको अवधारणालाई सञ्चारमन्त्री र सञ्चार सचिवले सकारात्मक रुपमा लिइदिएकाले नै वितरणको अवस्थासम्म आइपुगेको बोर्डका अध्यक्ष राजकुमार राईले अवगत गराए । ‘परिचयपत्रले चलचित्रकर्मीलाई प्रशस्त फाइदा दिनेछ । यो फिल्मकर्मीप्रति सम्मान पनि हो, भविष्यमा अझ थप विशिष्ट श्रेणीका परिचयपत्र वितरण हुनेछ,’ अध्यक्ष राईले भने । चलचित्र क्षेत्रमा मन्त्रालयले के–के गर्नुपर्छ, सुझावहरु उपलब्ध गराउन सञ्चारमन्त्री शेरधन राईले आग्रह गरेका छन् । ’राष्ट्र निर्माण र अर्थतन्त्रमा फिल्मका कलाकारले कसरी सघाउनसक्छ, सोचौं,’ मन्त्री राईले भने, ‘चलचित्र क्षेत्रको उन्नतिका लागि सबैले पुराना चिन्तन, पुराना कुण्ठा र पुराना दृष्टिकोण त्याग्नुपर्छ ।’ परिचयपत्र पाएका कलाकारहरुमा सामाजिक उत्तरदायित्व र भूमिका बढेको बताउँदै कलाकार नीर शाहले भने, ‘त्यो उत्तरदायित्व र जिम्मेवारी इमानदारीका साथ वहन गर्न सकेमा मात्र यो परिचयपत्रप्रति न्याय हुनेछ ।’

Facebook Comments

सम्बन्धित

Leave a Comment