हलेसीमा नमुना होटल ‘हलेसी भिलेज’

अर्थ, पर्यटन

संगीता राई
खोटाङ, ७ वैसाख । खोटाङ जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल हलेसी महादेवस्थानमा आउने आन्तरिक तथा वाह्य पर्यटको सुविधाका लागि नमुनाका रुपमा होटल हलेसी भिलेज संचालनमा आएको छ । स्थानीय तहमा खोटाङ जिल्लाको रहनसहन तथा पारिवारिक वातावरणमा सेवा सुविधा उपलब्ध गराउने गरी होटल संचालनमा ल्याइएको हो ।

जिल्लाका चार जना अगुवा व्यवसायीहरुको लगानीमा होटल सुरुवात भएको संचालक मध्येका खुशनारायण सैजुले जानकारी दिए । उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र गिरी, निवर्तमान अध्यक्ष खुसनारायण सैँजु, वर्तमान अध्यक्ष राजेन्द्र लयालु र व्यवसायी जयराम गिरीको संयुक्त लगानी रहेको करिब एक करोड ५० लाखको लगानीमा सञ्चालन गरिएको होटल भूकम्प प्रतिरोधात्मक रहेको सैँजुले जानकारी दिएका छन् । लिजमा लिइएको सात रोपनी जग्गामा रेस्टुराँ, सेमिनार हल, स्थानीय उत्पादनको बिक्री कक्ष, पार्किङ व्यवस्थासहितका १० वटा कटेजबाट होटलले सेवा सुरु गरेको छ । चौबीसकोठे होटलमा एकै पटक ५० भन्दा बढी ग्राहकले सेवा पाउने व्यवस्था मिलाइएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्डमा पर्ने हलेसी आउने पर्यटक एवम् दर्शनार्थीका लागि आवश्यक खाना र बासको उचित प्रबन्ध गर्नका लागि नयाँ होटल सञ्चालन गरिएको बताइएको छ । एट्याच रुमसहितको सुविधा सम्पन्न होटलमा १५० जना अट्ने छुट्टै मिटिङ हलको समेत व्यवस्था रहेको छ ।

दर्शनार्थी तथा भक्तजनको निकै चाप रहने हलेसीमा सुविधायुक्त होटलको अभावमा तत्काल फर्कने पर्यटक तथा दर्शनार्थीलाई केहीदिन हलेसीमै बस्ने वातावरण मिलाएर जिल्लाको पर्यटन प्रवद्र्धनका लागि व्यवस्थित होटल सञ्चालनमा ल्याइएको अर्का संचालक तथा लगानीकर्ता राजु लयालुको भनाइ छ । हलेसी आउने दर्शकका लागि जिल्लाको चिनो लैजाने व्यवस्था मिलाउन होटलमा घङ्गरुको लठ्ठी, बाँस, माटो, काठ, खाँडीका कपडालगायतका स्थानीय थोकवस्तुको छुट्टै बिक्री कक्षसमेत राखिएको छ ।

11 22

33होटलमा रामनवमी, महाशिवरात्री, बालाचतुर्दशी, तीज, बोलबम मेलालगायतका अवसरमा आउने ग्राहकका लागि सुविधा दिन थप २० वटा टेन्ट टाँग्ने व्यवस्था मिलाइएको छ । भर्खरै सञ्चालनमा आएको होटलमा १५ जनाले रोजगार पाएका छन् । हलेसीमा हाल साना तथा ठूला गरी १५० भन्दा बढी होटल सञ्चालनमा छन् । दैनिक हजारौँ पर्यटक तथा दर्शनार्थी आउने हलेसीका होटलले हाल बढीमा ५०० जना ग्राहकलाई बास र गासको सेवा दिन सक्ने क्षमता छ ।

Facebook Comments

Leave a Reply