चिसाङको पहलमा क्यान्सरपीडित बालिकालाई सहयोग

एविसि खबर
खोटाङ, ६ वैशाख । वैदेशिक रोजगारको शिलशिलामा मलेशिया पुगेका खोटाङगे यूवाको पहलमा रसुवाकी क्यान्सरपीडित बालिकालाई करिब दूयलाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । रक्त क्यान्सरबाट थलिएकी रसुवाको लहरेपौवा–४ की पाँच वर्षीया मोनिका तामाङको जीवन रक्षाका लागि मलेसियामा कार्यरत खोटाङ नुनथलाका चिसाङ शेर्पाको पहलमा एक लाख ९० हजार ८४६ आर्थिक सहयोग प्राप्त भएको हो ।
क्यान्सरपीडित बालिकाको जीवनरक्षाका लागि सञ्चालन गरिएको उपचार खर्च सङ्कलन अभियानबाट जुटेको रकम पीडित बालिकाको आफन्तलाई पठाइएको मलेसियाबाट शेर्पाले जानकारी दिए । तीन महिनादेखि ब्लड क्यान्सरपीडित बालिकाको उपचार खर्च जुटाउन शेर्पाको पहलमा ‘ब्लड क्यान्सर पीडित मोनिका तामाङ बचाउ अभियान’ नामक फेसबुक अभियान सुरु गरिएको थियो । मलेसियामा मोनिका बचाऊ अभियान चलाइरहेका शेर्पालाई कतारबाट पनि खोटाङकै युवाले साथ दिइरहेका छन् ।

आर्थिक स्थिति कमजोर भएका कारण क्यान्सरपीडित बालिकाको आफन्तले उपचारका लागि सहयोगको याचना गरेपछि सहयोग जुटाउन अभियान चलाइएको शेर्पाले बताए ।  पीडित बालिकालाई सूर्य चाम्लिङ र समर बूढालगायतबाट पनि पाँच हजार १०४ प्राप्त भएको छ । ‘एक्युट लिम्फोसाइटिक लेउकेमिया अल’ नामक क्यान्सर भएकी बालिकाको उपचारका क्रममा हालसम्म रु चार लाखभन्दा बढी रकम सकिएको आफन्त प्रदीप तामाङले बताए ।  काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको शरीरमा दैनिक ताजा रगत खरिद गरेर फेरी रहनुपर्ने अवस्था छ । आफन्त तथा शुभेच्छुककै सहयोगमा बालिकाको उपचार भइरहेको छ । सानै उमेरमा छोरीलाई प्राणघातक रोगले च्यापेपछि तामाङ परिवार चिन्तित छन् ।

क्यान्सरपीडित मोनिकालाई सहयोग गर्न सिआइएमबीको खाता नम्बर ७००१३२४४१६ मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । यसअघि चिसाङकै पहलमा मलेसियामा नुनलथा–९ का क्यान्सरपीडित यामवीर तामाङको सहयोगार्थ अभियान चलाइएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment