भूईंचालोले बँसाइ हिडायो

राई विवेक
भोजपुर ५ वैशाख । भोजपुरका अधिकांस गाउँका वासिन्दाहरु भूइचालो पछि पानीको मुहान सुक्दा गाउँ नै छाडेर बँसाइ हिँडेका छन् । भूईंचालोले मुहान बन्द भएपछि खानेपानी योजना संचालनका लागि मुहान सबै सुकेकाकारण उनीहरु बसाईं हिँडेको बताइएको छ ।

सदरमुकाम नजिकैको मानेभञ्ज्याङ गाविस–९ थाक्ले, गुराँसे, जुकेपानीका १५ घरले एक महिनाअघि गाउँ छाडेर तराईतीर बसाईं गएका छन् । भोर्लेनी, आम्बोटे, चाक्से, डाँडागाउँ, तुन्ताङ, डडुवा, कात्तिकेका बासिन्दाले समेत बसाईं जाने निर्णय गरिसकेको स्थानीय जुकेपानी निमाविका शिक्षक इश्वर पराजुलीले बताए । उनका अनुसार मानेभञ्ज्याङ गाविसको मोहरिया, फँलाटे, पूर्खेटार, साउनेपानी, दमैछाप, अर्चले गाउँका बासिन्दा खानेपानीको अभावकै कारण यो वर्ष ५० घरपरिवार बसाईं सर्ने तयारीमा छन् ।

भूईंचालो आएपछि बस्ती नजिकै रहेका साना ठूला पानीका मूल सुकेपछि पूरै गाविसका बासिन्दाले पिउनेपानीको अभाव झेल्दै आएका छन् । मानेभञ्ज्याङ गाविसमा प्राकृतिक कुवा, धारा, पँधेरा लगायत पानीका साना ठूला श्रोत सुकेपछि समस्या हुन थालेको हो । भूकम्पले प्राकृतिक रुपमा रहेका पानीका श्रोतहरु सुकेका छन् । पूराना धारा, कुवा, पँधेरा, खोला, खोल्सी सुकेपछि मानेभञ्ज्याङ गाविसको ९ वटै वडामा खानेपानीको हाहाकार भएको मानेभञ्ज्याङ–४ डडुवाका अर्का शिक्षक जयकुमार राईले बताए । घण्टौं लाइनमा पालैपालो भर्दा रातभर, दिनभर नै बसेर पानी भर्नुपर्ने भएकोले जग्गा जमिन घर छाडेर बसाईं जाने विकल्प रोज्नुपरेको मानेभञ्ज्याङ–८ का राजकुमार पौडेलले बताए । मानेभञ्ज्याङ गाविसमा प्राकृतिक ढुङ्गे धारा, कुवा, पँधेरा बाहेक पिउनेपानीको बैकल्पिक श्रोत छैन । यस गाविसको उत्तरतीरबाट बेहेरे, पूर्वमा पिखुवा र पश्चिमतीरबाट मकुवा खोला बगेर खेर गएपनि वस्तीसम्म ल्याउन कठिन छ ।

महाभूकम्पले दलगाउँ गाविस–१ कैंदले, लाकुरे लगायत विभिन्न वस्तीमा ढुङ्गेधारा, कुवा, पँधेरो सुकेकाले खानेपानीको अभाव छ । दलगाउँ, भूल्के, बैकुन्ठे, बासिखोरा, होम्ताङ, ठूलोदुङ्मा, सानोदुङ्मा, जरायोटार, दोभाने गाविस लगायत विभिन्न ठाउँमा पानीको मुहान सुकेका छन् । मुहान सुक्नाले जिल्लाको अधिकांस बासिन्दा पिउनेपानीको अभाव झेल्दै आएका छन् । कतिपय गाविसमा सुख्खा खडेरीको बेला हरेक बर्ष पिउनेपानीको अभाव भोग्दै आएका छन् । पहाडबाट सुविधाको खोजी गर्दै तिब्रगतिमा तराईतीर बसाईं सराईं हुने गरेकोमा यसवर्ष पिउनेपानीको अभावले गाउ छाड्नेहरुको सख्ंयामा समेत वृद्धी भैरहेको छ.।

Facebook Comments

सम्बन्धित

Leave a Comment