विद्यालयमै छुवाछुतको आरोप

समाज

एविसि खबर
कञ्चनपुर, ४ वैशाख । झलारी पिपलाडी नगरपालिका–६ कसरौलस्थित वैजनाथ उमाविका प्राचार्य र व्यवस्थापन समितिका अध्यक्षले नै छुवाछुत जस्तो घृणित कार्य गरेको भन्दै मुद्दा परेको छ । विद्यालय नजिकै छाप्रो बनाएर बस्दै आएकी द्रौपदी लुहारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराप्रसाद जोशी, प्राचार्य सिद्धराज भट्ट र शिक्षक खडक साउदविरुद्ध गत चैत ३० गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा मुद्दा दायर गरेकी हुन् ।

लुहारले दायर गरेको मुद्दामा १५ वर्षदेखि बसोबास गर्दै आएको ठाउँमा जबर्जस्ती गौरा मन्दिर स्थापना गरी दलित अछुतले मन्दिर नजिकमा बस्नु नहुने र बसेमा माथिल्लो जातिका व्यक्तिलाई छुवाछुत हुन्छ भनी बस्दै आएको जग्गाबाट जबर्जस्ती उठाउने प्रयास भइरहेको उल्लेख छ । दलित समुदायको एकल नारीमाथि छुवाछुतको भावना राखी जबर्जस्ती बस्दै आएको ठाउँबाट उठाउने प्रयास भइरहेकाले अन्यायीमाथि छुवाछुत ऐनअन्तर्गत हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

जग्गा कायम गर्न र जबर्जस्ती बनाइएको मन्दिर हटाउन समेत माग गरिएको छ । विद्यालयका प्राचार्य भट्टले अस्थायी रुपमा लुहार परिवारलाई आश्रय दिइएको जग्गा विद्यालयको भएकाले पर्खाल बनाउनका लागि खाली गर्न भनिएको बताए । ‘छुवाछुत गरिएको छैन’ उनले भने, ‘आरक्षको विस्तारित क्षेत्रबाट लखेटिएका लुहार परिवारलाई मानवीय आधारमा अस्थायी रुपमा बस्नका लागि सो स्थान उपलब्ध गराएका हौँ ।’

‘लुहारका श्रीमानको मृत्यु हुँदा समेत विद्यालयका शिक्षक र विद्यार्थीले सहयोग रकम जुटाएर काजक्रिया गर्न सघाएका थियौं’ उनले भने्, ‘छुवाछुत गरेको भनेर लान्छना लगाउने कार्य झुटो हो, यसमा कुनै सत्यता छैन ।’

Facebook Comments

Leave a Reply