आज रामराज्यका परिकल्पना गरिएको दिन

समाज

एविसि खबर
काठमाडौं, ३ वैशाख । चैत्र शुक्ल नवमी अर्थात् रामनवमी मर्यादा पुरुषोत्तम रामचन्द्रको पूजाआजा गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको सुपुत्रका रुपमा रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

कुण्डलीमा पाँच ग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनाको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नु भएको बताए । उनले भने, ‘जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्न सके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ’

रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनानुसार चैत्र अष्टमीका दिन अष्टमातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवीपूजा गरी रामचन्द्रको पूजा, पाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रुपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ ।

यसैगरी ‘व्रतार्क’ नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ । नवरात्रका अवसरमा ‘दुर्गा सप्तशती चण्डी’, ‘देवी भागवत’ र ‘कालिका पुराण’ आदि देवीस्तोत्र पाठ गरिन्छ ।

Facebook Comments

Leave a Reply