टुहुरा मान्छेहरु आफन्तको खोजिमा

कविता

 

 

–आहुती

१, एउटा टुहुरो मान्छे
यो भर्खरै हातगोडा पलाएकोरआँखा सिमसार जस्तै रसाएको
चुटुक्क अनुहार लिएर , अन्धकार भविश्य बोकेर
तिमीलाई हेरिरहने सानो मान्छे
पढेकाहरुले मलाई अनाथ भन्छन ÷ नपढेकाहरु भातेभुते भन्छन्
म पनि कुनै आईमाईको सानो पेटमा सल्बलाएथेँ हुँला
म पनि जन्मँदा ईशारा गएझैँ रोएथेँ हुँला
घिच्रो आठयाएर मार्न नसकेर हो कि ?
कलीला हात गोडा सलबलाएको देखन नसकेर हो कि ?
कतै ढुंगाको गब्देरोमा ÷ कतै मसानको छेवैमा
मलाई थपक्क फालेर फर्कदा
मैले पनि त्यो आईमाईको फरियामा झुन्डिन खोजे हुँला !
को होली त्यो निष्ठुर आइमाइ ?
को होला त्यो लाचार लोग्नेमान्छे ?
सड्कमा कुनै आईमाई या घरानीया कुमारी पन्छिएर हिँड्दा
मलाई आफ्नो बच्चा भन्न नसकेर भित्रभित्रै रोएझैँ लाग्छ
समाजका भुँडिवालहरु नजिकैबाट हिँड्दा पनि
आमासँग जोडीएको नाइटोको नसा चुडाल्ने भनी झम्टन मन लाग्छ
गाउको मुखिया देखे पनि÷शहरका पाखन्डिलाई भेटे पनि
मेरो अनुहार यो संग मिल्छ कि भनेर दाँज्न मन लाग्छ
यसरी आफ्न आफन्तबाट फालिएर ÷ आफ्नै सुरमा
आशा पनि थाम्न नसकेर ÷ निराशा पनि बोक्न नभ्याएर
कतै देवलको भित्र कुनामा
कतै गाउँको थोत्रो पौवामा लडिरहेको मलाई
कसैले चेपारे घसेर ‘बाबु नानी ’ भनेर नबोलाउ
म मलाई फ्याँक्ने ति जोडीलाई सम्झना थाल्छु
म त्यस्ता आफन्तको साइनोलाई थुक्न थाल्छु
म सिङ्गो भएर पनि किन हो किन अपुरो भएको छु
मेरो कोही छैन यो संसारमा म टुहुरो भएको छु ।

२, अर्को टुहोरो मान्छे

यो रगत जती जम्मै निख्रिएको ÷ मासु जम्मै चाउरिएको
आँखा चिप्रा पनि पुछन नभ्याएकी
फाटेको चोलो र फरिया पनि टाल्न नसकेकी
झरिमा सारुङ चुलचुल गरेझैँ
सत्रधारा आँशुले रुझेकी मलाई
नचिन्नेहरु ‘को होली बुढी ?’ भन्छन
चिन्नेहारु ‘विर बहादुरअकी आमा’ भन्छन
मेलापात गरी गरी बेसाएर ÷ रात भरिभरी नसुतेर
सधैंभरी छातीमा टाँसेर विरेलाई हुर्काएकी थिएँ
गाउलेहरु भन्दा हुन ‘यो राँडी आईमाईले के ख्वाइ होला?’
तर मैले घोट्ताप्रे पिँधेर गर्मी शितल पारेझैँ
आफ्ना कुरकुरे हाढरु घोटेर उसको पेट्को आगो निभाएको थिएँ
म पनि उसलाई छाडेर पोइला जान सक्थेँ हुँला
कतिले पँधेरामा फकाउन आएथे
विरेलाई रुवाएर सिन्दुर लगाउन सक्थे हुँला
रहरले त सपनिमा गीत गाएथेँ
तर मैले उसको मायाले
उसका ओठबाट दुध पनि खोस्न सकिन
बाबु मरेको टुहुरोलाई अझै टुहुरो पार्न सकिन
यसरी उ मेरो काखमा हुर्केपछी
तिघ्रे भएर मेरो आँखा अगाडि उभिएपछी
अमला खाएपछी पानी खाँदा हुने गुलियो जस्तै
जिन्दगानीलाई मिठो ठानेको थिएँ
तर उसले मनपरेकी स्वास्नी बिहे गरेपछी
रिसाएरै भन्छु उसले स्वास्नीको पेटिकोट ओडेपछी
बुहारीले मल्लाई झर्को फर्को गर्दा
छोरोले मलाई हप्किदप्कि लगाउँदा
बिहान सबेरै पोतरी लिएर दैलो पोत्दा
मैले पोतरीभरी आँशु झारेकी थिएँ
म एउटी बुढीआमा देखी लुकाएर
बिरेले रोटीका पोकाहरु कोठाभित्र लाँदा
लोग्नेस्वास्नीले हाँसी हाँसी खाँदा
आँखा भएर पनि मैले चारैतिर अँध्यारो भेटेको थिएँ
यसरी बुहारीकै खटनपटन सहेर बाँच्दा पनि
घरको तगारो बाहिर बसेर रुँदा पनि
बुहारी ले जगट्याउँदा ÷ छोराले उल्टै भर्याङबाट खुर्मु¥याइदिँदा
म सङ्गै विरेलाई नौ महिना बोक्ने सानो पेट पनि रोएको थियो
कलीलै उमेरमा बिधवा हुँदा के मुटु दुख्यो होला र ?
तर अहिले सिस्नोले जस्ताइ मुटुलाई पोलेको थियो
यसरी आफ्नै सन्तानबाट लछारिएर
बाँसको झाङ जस्ताइ सुसाएर
कतै बेसिको पौवातिर ÷ कतै गोरेटोको गल्छेडोतीर
बस्दै बस्दै हिँडिरहेकी मलाई
कसैले स्वाङ पारेर ‘आमा’ भनेर नबोलाउ
म ति छोरा बुहारी लाई सम्झना थाल्छु
म त्यस्ता आफन्तको साइनोलाई थुक्न थाल्छु
म सिंगो भेर पनि किन हो किन अपुरो भएको छु
मेरो कोही छैन यो संसारमा म टुहुरो भएको छु ।

३, आफन्तको खोजिमा
यसरी निर्धा मान्छेको घोडा चढेर
रनबन डुल्न पल्केका ब्वाँसाहरुले
कतै चेलीको छाती गिजोल्दा ÷ छाप्रोमा कतै डढेलो दन्काउदा
रगत र आँशु कतै निचोरेर ÷ पसिना र मासु कतै चिथोरेर
घटघटी कचौरामा रक्सी जस्तै पीइरहेको बेला
आत्तिएर कहिले थुरुथुरु भएर
रिसाएर कहिले आँफै भुतभुतिएर
चिप्ले किरालाई जस्तै घामको तातोले पोलेपछी
हाँस्न पनी राम्ररी नसकी ÷ रुन पनि बेस्सरी नसकी
शितल खोजेर घिस्रिरहेका एकहुल मान्छेहरु
आफ्नै बच्चालाई सलहदेखी लुकाएर
कुखुरीले जाडोमा चल्ल छोपेजस्तै
काखमा हुर्काएर बाँच्न खोज्दा पनि
पराइ त पराइ भई गए
आफन्तकै मायाको सियालमा सुस्ताउन खोज्दा पनि
आफ्नै आँखामा हाँसिरहेका आफन्तहरुले
आफ्नै काखमा हुर्किएका बच्चाहरुले
बाबियोको कुचोले कस्सेर बढारे जस्तै
मासु निख्रिएको झिँगालाई माकुरोले फालेजस्तै
ठुलो जाइको पात जस्तै तितो बचन लगाएपछी
पिठ्युमा धाप मारेर दैलोबाट निकालेपछी
(आफ्नै गर्भको फुललाई ÷आँफैले रोपेको फुललाई
अनाथ बनाएर कतै फालेपछी )
हामी आफ्नै आफन्तबाट ठगिएका मान्छेहरु
देशमा पनि अनी परदेशमा पनि
कतै पाटिमा , कतै देउरालिमा
कतै बाटोको चौबाटोमा , कतै सडक किनरामा
पलपल्ती आँशु झारी साउने झरी सरी
कोही नौलो आफन्त आउछ कि भनेर
फेरी नयाँ साईनो गाँसिन्छ कि भनेर
झरिमा पनि भुपट्टो निधार चहराउने घाममा पनि
एकनास नयाँँ बिहानी खोजिरहेका छौँ
के दिन , के रात, के साँझ , के बिहान सधैंँभरी
हामी बौलो आफन्तलाई पर्खिरहेका छौं ।

Facebook Comments

Leave a Reply