हे देवी !

अरुणिमा, कविता

–सरिता तिवारी

हे देवी !
देखाईदेऊ
यो दैत्यहरूको साम्रज्यमा
तिम्रो विराट कालीरूप

दुई हातमा चम्चमाइरहेको त्रिशुल
क्रोधले धप्धपाईएरहेका आँखा
रगत लप्लपाइरहेको जिब्रो
घुँडा घुँडा छुने खप्परको माला
भष्मले पोतिएको अर्धनग्न जिउ !

बालखैदेखि देखेकी हुँ
दशैघरहरूमा राखिएका तिम्रा मूर्ति
तिम्रा चित्र, पोष्टर, थरि थरि कलाकृति
र बाघमाथि विराजित तिम्रो ब्रन्डेड तस्वीर
जहीँ कहीँ देख्छु अझै पनि
फुटपाथमा
पूजा घरहरूमा
वा आस्थाको नाम अनाम दुकानहरूमा

तर हे दर्गे !
मलाई हेर्नु छ
तिमीलाई हुङ्कार गरिरहेको रौद्र रूप !

जब ताक्थे असुरहरूले देउताहरूको राज
र डग्मगिन्थ्यो स्वर्गको सिंहासन
त्यसपछि तिम्रो अर्चना गर्थे काँतर देउताहरू
र तिमी बनिदिन्थ्यौ तिनको सुरक्षाका लागि
ढाल

ज–जसका लागि लडे पनि
आखिर सावित गरेकाी हौ तिमीले
अपराजेय वीरता
तर हे महाशक्ति !
तिमीले महिषासुर वध गरेर फर्किएपछि पनि
घुमिरहेको छ पृथ्वी
तिमी उभिरहँदैमा
कहाँ उभिरहन्छ र घडी ?

युगका युग
कल्पका कल्प
कुन निद्रामा छौं देवी ?
पग्लँदा पग्लँदैको तामाजस्तो रूप लिएर
कहिले हो तिमी जुरूक्क उठ्ने ?
हेर्नुछ मलाई
दैत्यहरूको संहार गरिरहेको
तिम्रो हिरोइक अन्दाज !

थाहा छ?
तिमी निदाएको बेला
उनीहरूले तिमलिाई बोक्सी बनाए
र बलात ख्वाए रछ्यान
बलजफ्ती थुनेर कोठीभित्र गरिदिए ‘वेश्या’ करार
र नैतिकताको सफेदपोस भिरेर
लेखु धर्मका नाममा पापका मन्त्र

तिमी निदाएपछि
अवचेतनमै घोकाइएको हो तिमीलिाई
सहनशिलताको अद्धेत वर्णमाला
र गराइएको हो तिम्रो चेतनामाथि पक्षाघात

त्यसपछि ने थालिएको हो
तिम्रो निरपेक्ष सौन्दर्यका पूजन
तिम्रा आँखा र ओँठहरूको विज्ञापन
तिम्रा भङ्गिमा र सेक्स अपिलको चर्चा
र सिद्धिएको हो यो चराचर जगतमाथि
तिम्रो अपार शक्तिको भाष्य ।

यतिबेला
तिम्रो योनीमा हाम्फालेर
सारा लाजहरूले गरेका छने आत्महत्या
र स्थापित भएका छ
मात्र पाँच इन्चको ‘बर्बर’ वस्तुको सत्ता
जहाँ आफ्नै छोरीमाथि घोप्टिएर तृप्त भएको बाउ
हरिया दाँत ङिच्याएर गरिरहन्छ
यो फोहोर िसत्ताको पहरेदारी

अचाक्ली भो ! अतिचार भो !!
हे हमामतृका !
द्धार द्धार, गाँउ–शहर
नरही कहीँ खाली ठाउँ
बनेको छ घिनै घिनहरूको साम्राज्य

अब त बिउँझिदेउ
यो कठोर निद्राबाट
देखाइदेउ तिम्रा कोटी कोटी हातहरूको शक्ति
देखाइदेउ तिम्रो त्यो दुर्लभ रूप
तिम्रो क्रोधको हुण्डरीले
आओस् भयङ्कर उथलपुथल
उठोस् साराका सारा हिमालहरू छिचोल्ने ज्वार समुद्मा
वा फुटुन् जम्मै महासागरहरू
छिदै्र छिद्रा भएर चाल्नी परोस् धरती
बरू सिद्धियोस् सभ्यता
र रित्तियोस पृथ्वी
चाहिएन,

युद्धबन्दीजस्तो
पराजयको बिल्ला लागेको आत्महन्ता जिन्दगी
मलाई लड्नु छ तिमीसितै उभिएर
इतिहासको अन्तिम लडाइँ
र वरण गर्नु छ बरू
शाहदात ।

(प्रश्नहरुको कारखानाबाट)

Facebook Comments

Leave a Reply