म तपाइँको को हुँ ?

– हाङयुग अज्ञात

म तपाइँको को हुँ ?
–लोग्ने ?
–प्रेमी ?
–बुबा ?
–भाइ ?
–साथी ?
–या मात्र पुरुष ?
कृपया भन्नुस्
तपाइँ र मेरो बीचको सम्बन्धलाई
म कुन नामले सम्बोधन गरुँ ?
म कुन नामले तपाइँसित
मेरो मनका असन्तोकहरू व्यक्त गरुँ ?
कृपया भन्नुस्
म तपाइँलाई कुन नामले सम्बोधन गरुँ ?
–स्वास्नी ?
–प्रेमिका ?
–आमा ?
–दिदी ?
–साथी ?
–या मात्र नारी ?
युगौंदेखि बाँधिएका छौं
हामी यस्ता अनेकन् सम्बन्धहरूले
र यीनै सम्बन्धहरूको बीचबाट
तपाइँले मलाई
बनाउनु भएको छ गान्धी
र बनाउनु भएको छ वीरप्पन
बनाउनु भएको छ बुद्ध
र बनाउनु भएको छ कंश
आखिर म तपाइँको को हुँ ?
अहिंसक कि तस्कर ?
शान्तिप्रिय कि बदमास ?
कृपया भन्नुस्
म तपाइँको निर्मल सपना हो कि विभत्स वर्तमान ?
प्रेम र स्नेहले बाँधेर
मैले जो सम्भोग गरेँ
उन्नत विचार–योनीमा
परिवर्तनको लिङ्गले
के म तपाइँको अपराधी भएँ ?
–चोर भएँ ?
–डाका भएँ ?
–फटाहा र जाली भएँ ?
–प्लेब्वाइ र छाडा भएँ ?
–राँडो र रन्डो भएँ ?
कृपया भन्नुस्
तपाइँ र मेरो बीचको सम्बन्धलाई
म कुन नामले सम्बोधन गरुँ ?
र मनभित्रका विष्फोटनहरू
तपाइँ समक्ष पेश गरुँ ?
हो,
हाम्रा आँखा उस्तै छन्
तर दृष्टिकोण किन फरक ?
हाम्रा मनमस्तिष्क उस्तै छन्
तर सोच किन फरक ?
हाम्रो यात्रा एउटै हो
तर गन्तव्य किन फरक ?
हाम्रो नश्ल एउटै हो
तर जात किन फरक ?
किन म पुरुष ?
किन तपाइँ नारी ?
के हामी मान्छे हुन सक्दैनौँ ?
हो
यस्तै प्रश्नहरूको जङ्गलबाट
म तपाइँसित आफ्नो
बजुद मागिरहेको छु
कृपया भन्नुस
म तपाइँको को हुँ ?
(होङ कोङ बाट, यो किताब फिनिक्स बुक्स भृकुटीमण्डपमा पाइन्छ ।)

Facebook Comments

सम्बन्धित

Leave a Comment