मनसरा

अरुणिमा, कविता

– निभा शाह

मनसरा
पसिना बगेर
दुनियाँ बदलिने भए
भरियाको दुनिया
उहिल्यै बदलिसक्थ्यो मनसरा ।

रगत बगेर
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यौ बदलिसक्थ्यो मनसरा ।

जब कि मनसरा !
रगत–पसिनाले नै
दुनियाँ बदलिने हो
रगत–पसिनाले नै
नबदलिएको दुनियाँ
किन बदलिएन ?
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा?
आगो बोलिरहेछ मनसरा ।

आफूले चिरेको दाउरा
अरूले नै बालेपछि
आगो आफ्नो हुदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुदैन मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले खोरिया खनेको खेत
अरूकै नाममा दर्ता भएपछि
माटो आफ्नो हुँदैन मनसरा
माटो आफ्नो नहुनेको
पेटभरि अन्न हुँदैन मनसरा
पेटभरि अन्न नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले बोकेको बन्दुक
अरूले नै कासन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आगोको आवाज सरन मनसरा ।
– फागुन, २०६६
(मनसरा कविता संग्रहबाट)

!!!!!!!!!!
सिन्का
नजोडे–त्यही सिन्का कुल्चिएर
धुलोमाटो हुन्छ
जोडे– त्यही सिल्का गुँड हुन्छ
सृष्टि र सिर्जना हुन्छ ।

नजोडे– त्यही सिन्का
आँधिसँगै उड्ने
पतिङ्गर हुन्छ
जोडे– त्यही सिन्का
जिन्दगी हो
जिन्दगीको अनुभूति हुन्छ ।

-माघ, २०७१
(मनसरा कविता संग्रहबाट)

Facebook Comments

Leave a Reply