तलबको कुरा नमिल्दा भिडियो एक्सरे सेवा बन्द

एविसि खबर
पर्वत, २९ चैत । जिल्ला अस्पताल पर्वतमा रहेको एक्सरे मेसिन नचलाउँदा सर्वसाधरण महंगोमा परेका छन् । झन्डै एक महिनादेखि अस्पतालको एक्सेरे मेसिन संचालनमा नआउँदा उनीहरुले चर्को मूल्य तिरेर नीजि क्लिनिकमा जनुपर्ने गुनासो गरेका छन् ।

अस्पतालमा कार्यरत चिकित्सकले आन्तरिक कारण देखाउँदै अस्पतालमा रहेको भिडियो एक्सरे सेवा बन्द गरेपछि सर्वसाधारण निजी क्लिनिकमा जान बाध्य बनेका छन् ।

सेवा बन्द हुँदा अस्पतालमा पुग्ने असहाय, अशक्त बिरामी मर्कामा परेका छन् । पर्वत जिल्ला अस्पतालका चिकित्सकले अस्पतालमा रहेको भिडियो एक्सरे गर्ने कोठाको चाबी बन्द गरेर तीन सातादेखि बाहिरको क्लिनिकमा बिरामी जाँच गर्न जाने गरेको जिल्ला अस्पतालले जानकारी दिएको छ । सरकारी अस्पतालका चिकित्सक निजी क्लिनिकमा बिरामी जाँच गर्न जाने गरेको समाचार यसभन्दा पहिला पनि आउने गरेको भए पनि अस्पताल नै बन्द गरेर जाने गर्दा समेत कुनै कारबाही हुन नसक्दा सर्वसाधारण बिरामी मर्कामा परेका हुन् ।

पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिले एक वर्ष अधिदेखि डा सरोज दाहाललाई भिडियो एक्सरे विभागको जिम्मा दिएको अस्पताल विकास समितिले जानकारी दिएको छ । विभिन्न कारणले कारबाही गर्न नसकिएको र काममा लगाउने वातावरण गराएको भए पनि डा दाहालको बेवास्ताका कारण काम हुन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पौडेलले बताए । डा दाहालले विभिन्न समयमा बिरामीको बेवास्ता गर्दै निजी क्लिनिकमा बिरामी जाँच गर्ने गरेको पाइएको छ ।

यता डा दाहालले भने आफूले उचित पारिश्रमिक नपाएकाले काम नगरेको बताए । ‘मैले समितिसँग पारिश्रमिकको कुरा गरेको हो’ उनले भने ‘कुरा मिल्यो भने काम हुन्छ ।’ यस सम्बन्धमा पर्वत जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा भवानीप्रसाद शर्माले भिडियो एक्सरे गरेबापतको ४० प्रतिशत रुपैयाँ सम्बन्धित डाक्टरलाई दिने प्रावधान रहेको बताउँदै कुनै समस्या भए बसेर समाधान गर्न सकिने तर सेवा बन्द गर्नु राम्रो पक्ष नभएको बताए । उनले भिडियो एक्सरे सेवा तत्काल सुचारु गर्ने जानकारी दिनुभयो । पर्वत जिल्ला अस्पतालमा दैनिक १० देखि २० जनासम्म भिडियो एक्सरे गर्नुपर्ने बिरामी आउने गरेका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment