उदयपुरमा आगलागीबाट २८ लाखको क्षति

एविस खबर

उदयपुर, २८ चैत । उदयपुरको खाँबु गाविस–९ मा शनिबार आगलागीमा परि दुई घर जल्दा करिब २८ लाख बराबरको क्षति भएको छ । स्थानीय जङ्गलबाट सल्केर आएको आगोले खाँबु–९ को सिंहबहादुर मगरको घरमा आगलागी हुँदा मगरको तीनतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगलागीका कारण मगरको घरको लत्ताकपडा, अन्नपातसहित तीनतोला सुन, नगद ४० हजार तथा नौवटा बाख्रासमेत जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । आगलागीबाट मगरको २० लाख रुपैयाँ बराबरको क्षति भएको पनि प्रहरीले उल्लेख गरेको छ ।

यस्तै, शनिबार नै सोही स्थानका हीराबहादुर मगरको घरमा आगलागी हुँदा घर तथा अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट मगरको आठ लाख बराबरको सम्पत्ति नष्ट भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले जानकारी दिए । स्थानीय जङ्गलमा डढेलो लागेका कारण जङ्गलबाट घरमा आगो सल्केको प्रहरीले बताएको छ । गाउँले र स्थानीय प्रहरी चौकीको सक्रियतामा आगो भने अहिले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment