ढकालनै लागे व्यवसायीका आन्दोलन तुहाउन

Job

काठमाडौं, २८ चैत । लामो समयदेखि म्यानपावर व्यवसायीको हितमा भन्दै आन्दोलन चलाइरहेका व्यवसायी संघका अध्यक्ष विमल ढकालले आन्दोलनलाई कमजोर बनाउने खेलमा लागेको खुलासा भएको छ । उनले वैदेशिक रोजगार व्यवसायीका आन्दोलन तुहाउन लागिपरेको अन्य व्यवासायीहरुको आरोप छ ।

वैदेशिक रोजगार व्यवसायीको जारी आन्दोलनको मुख्य एजेन्डा सम्बन्धित श्रम तथा रोजगार मन्त्रालयले मागे पनि अध्यक्षले वास्तविक एजेन्डा प्रस्तुत नगरेर आन्दोलनलाई तुहाउन लागेका हुन् ।

तत्कालिन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको मन्त्रीस्तरीय निर्णयबाट गत २१ असारदेखि मलेसिया र खाँडीका ६ मुलुकगरी सात वटा देशमा फ्री भिषा, फ्री टिकटको निर्णय गरेको थियो । नेपाली कामदारहरूलाई रोजगारीमा जान व्यवसायीहरूले बढीमा १० हजार मात्र लिन सेवा शुल्क लिन पाउने गरी निर्णय आएपछि ढकालले व्यवसायीहरूलाई आन्दोलनमा होमिन लगाएर आफूले भने व्यवसायीहरूसँग छलफल नै नगरी आन्दोलनलाई तुहाउने गरी मुद्दा दायर गरेका हुन् ।

त्यसबेला सम्पूर्ण वैदेशिक रोजगार व्यवसायी र उक्त क्षेत्रसँग सम्बन्धित सवै निकायहरूले ऐक्यवद्धता जनाउँदै सरकारी निर्णयको पुनरावलोकनका निम्ति भद्र आन्दोलनमा सहभागी बने पनि व्यवसायीसँगको छलफलमा एउटा सहमति गर्ने र वार्तामा आफू र आफ्नो व्यक्तिगत फाइदाको पक्षमा नियमनकारी निकायसँग ‘लबिङ’मा लागेर १९ दिने व्यवसायीको आन्दोलन अध्यक्ष ढकालले तुहाएको व्यवसायीहरू बताउँछन् । ‘फ्रि भिसा, फ्रि टिकट’ लोकप्रिय एजेन्डा भए पनि वैज्ञानिक र व्यवहारिक नभएको भन्दै गरिएको व्यवसायीहरूको आन्दोलन सफल बन्नै लाग्दा अध्यक्ष ढकालले सरकारलाई विपक्षी बनाई दायर गरेको मुद्दा हारेपछि निकास आउनै लागेको आन्दोलन उनले तुहाएको एक व्यवसायी आरोप लगाउँछन् ।

यसैबीच गत ८ साउनमा श्रम तथा रोजगार मन्त्रालय र व्यवसायी संघबीच भएको ३१ बुँदे सम्झौताको अध्यक्ष ढकालले पूरै बेवास्ता गर्दै आएका छन् । त्यति मात्र होइन, व्यवसायीहरूको छाता संगठनको रूपमा रहेको संघको अध्यक्षजस्तो हैसियतमा रहेका ढकालले तत्कालीन आन्दोलन तुहाउन मन्त्रीसँग अध्यक्ष ढकालको आफ्नै म्यानपावर कम्पनी खगोल ओभरसिजमा रोजगारीका मागपत्र (डिमान्ड) भित्रयाउने सहमति गरेको र उनले प्रशस्तै (डिमान्ड) पाएको तर, व्यवसायीबाट विरोध हुने डरले अर्को म्यानपावर संस्थाबाट काम गराई राम्रो व्यापार गरेको नाम नखुलाउने सर्तमा संघकै अर्का पदाधिकारीले खुलाएका छन् ।

त्यसो त त्यो समयमा ‘फ्रि भिसा, फ्रि टिकट’ राम्रो निर्णय भएको भन्दै व्यवसायीको आन्दोलनको अर्थ नभएको भन्ने आवाजहरू पनि नआएको होइन तर, अवैज्ञानिक र एकतर्फी राज्यले मात्र लागू गरेको उक्त निर्णयको राज्यले पुनरावलोकन गर्न सहमत हुँदै ३१ बुँदे सहमति ग¥यो त्यसको हालसम्म कुनै एउटा पनि बुँदा कार्यान्वयनमा आएको छैन । यसरी कार्यान्वयन नहुनुमा संघका अध्यक्ष ढकालको व्यक्तिगत लाभका लागि सम्झौता गर्दै हिँड्नु रहेको संघभित्रैका एक पदाधिकारी बताउँछन् ।

यसरी ढकालको अकर्मण्यताको कारण साउनदेखि फागुनसम्म व्यवसायीहरूलाई अन्योलमा राख्ने काम गरियो र जब राजस्व विभाग, अख्तियार र प्रहरीले एकैसाथ व्यवसायीमाथि नियमन ग¥यो त्यसपछि कुनै योजना र एजेन्डाबिना नै उनले व्यवसायीलाई आन्दोलनमा उत्रन उर्दी जारी गरे । पुनः आन्दोलन कुनै छलफलबिना नै उनैले विज्ञप्ति जारी गर्दै रोके ।

यसै प्रसंगमा म्यानपावर व्यवसायी किरणकिशोर घिमिरे भन्छन्, ‘ढकालज्यूको नेतृत्वलाई हामी सबैले अत्यन्तै सहयोग ग¥यौँ तर, उनको असक्षम नेतृत्वको कारण आन्दोलन तुहियो । उनी हतारमा निर्णय गर्छन् र फुर्सदमा पछुताउने काम गर्छन् । त्यसैले उनीजस्ता नेतृत्वबाट आमव्यवसायीले कस्तो अपेक्षा गर्ने प्रष्ट छ ।’ घिमिरे भने, ‘आन्दोलनमा व्यवसायीलाई उतारेर आन्दोलनको आवश्यकता र भूमिका के हो भन्ने कुरा उनले आफैँ बुझ्न नसक्दा नियमनकारी निकायसँग एजेन्डा प्रस्तुत गर्न असक्षम भएको कारण साउनको र फागुन–चैतमा भएको आन्दोलन तुहिन पुग्यो । अहिलेसम्म संघको इतिहासमा अध्यक्ष ढकाललाई जत्तिको व्यवसायीले सहयोग कुनै कार्यकालमा भएको छैन । अब यसबाट उनले आफ्नो नैतिकताको आधारमा के गर्नुपर्छ आफैँ बुझून् ।’

यसै सन्दर्भमा अध्यक्ष ढकालप्रति लागेको आरोपका बारेमा उनको व्यक्तिगत धारणा लिन बारम्बार प्रयास गर्दा पनि उनी सम्पर्कमा आउनै चाहेका छैनन् ।

२३ दिनसम्म पूर्व र अन्तिम स्वीकृति ननिकालेर व्यवसायीले आन्दोलनमा ऐक्यवद्धता जनाएकै बेला १८ चैतबाट अन्तिम स्वीकृतिको काम गर्न अध्यक्ष ढकालले सूचना जारी गरे । पूर्वस्वीकृतिको काम कारवाही गरे म्यानपावर व्यवसायीलाई कारवाही गर्नेसमेत उर्दी अध्यक्ष ढकालले गरे । तर, उनले आफ्नो उर्दीको बर्खिलाप गर्दै २४ फागुनमा ढकालकै म्यानपावर कम्पनी खगोल ओभरसिजले पूर्व्स्विकृतिको काम ग¥यो भने सोही दिन नै पूर्वस्वीकृतिको काम गरेको भन्दै एक म्यानपावर व्यवसायीलाई संघको नामबाट चलानी नम्बर ६२९÷०७२÷७३ उल्लेख भएको पत्रमार्फत् एक व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ ।

(प्रभाव दैनिकबाट)

Facebook Comments

Leave a Reply