फोहरबाट बिजुली 

समाचार

एविसि खबर

काठमाडौं २७ चैत । काठमाडौं महानगरपालिकाले आगामी तीन महिनाभित्र फोहरबाट बिजुली निकाल्ने भएको छ । महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमका अनुसार अहिले १४ किलोवाट बिजुली निकाल्न लागिएको हो । यो परीक्षण सफल भए काठमाडौं उपत्यकाका अन्य स्थान र उपत्यकाबाहिर पनि यस योजनालाई विस्तार गरिनेछ ।

अहिले टेकु ट्रान्सफर स्टेसनमा संकलित फोहरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक ३ सय टन जैविक फोहर आवश्यक पर्ने प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार उपत्यकामा दैनिक ४ सय ५० टन फोहर उत्पादन हुन्छ जसमध्ये ६३ प्रतिशत जैविक फोहर हुने गर्दछ । उपत्यकाको फोहरको व्यवस्थापन गर्ने सिलसिलामा बिजुली निकाल्न लागिएको हो ।

वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठका अनुसार उक्त कामका लागि युुरोपेली संघ र काठमाडौं महानगरले संयुक्त रूपमा करिब दुई करोड रुपैयाँ लगानी गर्ने छन् । उत्पादित बिजुली महानगरको कार्यालयमै प्रयोग गरिनेछ । बिजुली उत्पादनका लागि आवश्यक सबै सामग्री भने भारतबाट आयात गरिने बताइएको छ ।

निकट भविष्यमा टेकुमा संकलित फोहरबाट दैनिक ९६ केजी ग्यास, ३०० केजी जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने योजना महानगरको छ ।

Facebook Comments

Leave a Reply