चन्दा जम्मा गरेर खानेपानीको योजना

समाज

एविसि खबर
पर्वत, २७ चैत । विकास निर्माणका काममा राज्यकै मुख ताक्नुपर्ने परम्परालाई तोडदै पर्वत कुस्माका स्थानीय वासीहरुले श्रमदान र चन्दा संकलन गरेर गाउँमा खानेपानी संचालनमा ल्याएका छन् । उनीहरूले प्रत्येक घरबाट चन्दा र श्रमदान गरेर खानेपानी योजना निर्माण गरेका हुन् ।

कुस्मा नगरपालिका–७ दुर्लुङ चनौटेका बासिन्दाले गाउँमा खानेपानी योजना निर्माण गरेका छन् । १२ वैशाखको भूकम्पका कारण क्षतविक्षत बनेको खानेपानी योजना स्थानीयवासीले आफैँ मर्मत गरेका हुन् । योजना मर्मतका लागि जिविस र कुस्मा नगरपालिकामा पटकपटक माग गरे पनि कुनै सहयोग नपाएपछि आफैँ रकम संकलन गरेर खानेपानी योजना सञ्चालन गरिएको स्थानीयवासी सुवेदार टेकबहादुर गुरुङले बताए ।

उनले भने,‘जिविस र नगरपालिकासँग पटक पटक सहयोग माग गर्दा पनि नपाएपछि आफैँ रकम सङ्कलन गरेर योजना सञ्चालनमा ल्याएका हौँ ।’ बस्तीभन्दा माथि रहेको बराहथानको मुहानबाट गाउँमा पानी ल्याएर पिउन थालिएको उनले जानकारी दिए । चनौटे गाउँमा रहेका ६८ परिवारले प्रत्येक घरधुरीबाट ८ सय ३० रुपैयाँका दरले रकम संकलन गरी योजना सञ्चालन गरिएको हो । एक वर्षसम्म खानेपानीको सुविधाबाट वञ्चित हुनसमेत सम्बन्धित निकायले मर्मतका लागि चासो नदेखाएपछि स्थानीयवासी आफँै जागरुक बनेको स्थानीयवासी राजन गुरुङले जानकारी दिए । योजना सञ्चालन भएपछि अहिले खानेपानीको सहज उपलब्धता भएको छ ।

Facebook Comments

Leave a Reply