बाग्मती सफाइमा बालबच्चा

एविसि खबर
काठमाडौं, २७ चैैत । राजधानीको मुख्यभागमा बग्ने वाग्मती सफाई अभियानमा शनिबार बालबच्चा पनि सहभागी भएका छन् । धार्मिक हिसावले समेत पवित्र मानिदै आएको नदीलाई सफा र स्वच्छ तुल्याउने अभियानअन्तर्गत शनिबार बाग्मती नदीबाट बालबच्चाहरुको समेत सभहागितामा डोकाका डोका फोहर निकालिएको छ ।

अभियान्ता पूर्वमुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा बिहान ८ देखि १० बजेसम्म बाग्मती नदी र किनाराको सरसफाइ गरिएको हो । बाग्मती नदी सफाइ महाअभियान १५२औँ साता पुगेको छ । सरसफाइ अभियानमा खासगरी नेपाली प्रहरी र सशस्त्र प्रहरीले सघाइरहेका छन् भने अरू सङ्घसंस्था पनि सरसफाइमा सक्रिय छन् । टाढाटाढादेखि बाग्मती सफाइका लागि प्रत्येक शनिबार तोकिएको समयमा नदीमा पुग्ने गरे पनि स्थानीयवासी भने रमिते बनिरहेका छन् ।

अभियान कोटेश्वर महादेवस्थाननजिक बाग्मती नदी र किनारामा भएको थियो । सफाइका क्रममा प्लास्टिकजन्य फोहरलाई ट्रकमा सङ्कलन गरिएको थियो भने सुकेका पातपतिङ्गर जलाइएको थियो ।

जुनियर स्कुलस् प्रिन्सेस प्रोग्रामसँग आबद्ध ७७ जना स–साना नानी र उनीहरुका अभिभावकसमेत सहभागी भएका थिए । पवित्र बाग्मती नदी सफाइ अभियानमा सात वर्षका नानीदेखि ७० वर्षसम्मका वृद्धवृद्धाको सहभागी भइरहेको देखिन्छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment