एउटा देशको कथा

कविता

 

– चन्द्र गुरुङ

ओ !
आफ्नो अनुहारभरि
सुनौलो घाम बोकेर लेकबेँसी गर्ने राजकुमार
जून झैँ लुकामारी खेलिरहने राजकुमारी
बतासझैँ देउराली डाँडाकाँडा उडिहिँड्ने प्रियसी
आऊ, म एउटा देशको कथा सुनाउँछु
यस कथामा–
सेता हिमालका शिरमा टेक्दै टेक्दै
उक्लन्छन् स्वार्थी खुट्टाहरू
आँखाभरि माया बोकेर उभिएको पहाडलाई
ढुकिरहन्छन् लाटोकोसेरो आँखाहरू
लुछिरहन्छ विशाल छाति फैलाई पल्टेको तराईलाई
अतिक्रमणको भेलबाढी ।
देशको काँधमाथि टेकिहिँड्छन्
दलालहरूका बूटजुत्ता
शान्तिको परेवा छाडिएको आकाशैभरि
लोभका ठूला ठूला पखेटा फिँजाई
पहेरीदारी गर्छन् बाजहरू, र
आतंकित पार्छन् घरआँगनमा खेलिरहेका चल्लाहरू ।
मस्त नागबेली बाटो–दोबाटो
चाल फेर्दै हिँड्छन् छमेकी ढाडे बिरालाहरू
मायालु सडकमा मित्रताको नाटक गर्दै
घुमिरहन्छन षड्यन्त्रकारीहरू
सन्धि–सम्झौताको खोलभित्र दुष्ट फटाहाहरू
गरिरहन्छन् हाम्रो रगतको मोलभाव ।
यहाँका
शान्त गल्ली र सौहार्दपूर्ण चोकतिर
धूर्त स्यालहरूको चहलपहल छ
मौकामा सोझो अस्मिताको घाँटी अठ्याउँछन्
निर्दोष रगत चुस्ने ताकमा बस्छन्
चिथोरिरहन्छन् कलिला मन–मस्तिष्कहरू ।

खोला झैँ बगिहिँड्ने मनहरू
फूल जस्ता जीवनहरू
चराचरुङ्गी झैँ चिरबिर चिरबिर चहचहकिने खुशीहरू
आऊ, म एउटा देशको कथा सुनाउँछु
कथामा–
विदेशी चलखेलले डसिरहन्छ पुर्खौली ईतिहास
जालझलेको माकुरी जालमा जेल्लिएको छ राष्ट्रीयता, र
बलात्कृत छ देशप्रेम ।
छरपष्ट मायाप्रेमका अक्षरहरू
ढलिरहेका सीमा स्तम्भ जस्ता शब्दहरू
सद्भावका घाइते पङ्क्तिहरू
एकअर्काबाट च्यातिएका र छुट्टिएका पानाहरू
यस कथाभरि
दुःखिरहन्छ विषालु गोमनले बिस्तारै निली रहेको
मेरो देश नेपाल !

Facebook Comments

Leave a Reply