आफ्नै भाइबाट बलात्कृत युवतीलाई अझ पिडा

एविसि खबर
काठमाडौं, २४ चैत । काठमाडौंको फनपार्कमा जागीर खाँदै गरेकी एक युवती विशेष कामले भक्तपुर आफ्नै घरमा बसेकी त्यो दिन । उनलाई के थाहा आफ्नै सहोदर भाई त्यो दिन राक्षस भएर आउँछ भनेर ।
समाजमा चेली र माइतिको सम्बन्ध कति पवित्र हुन्छ । सँगै एउटै आमाबाबुको सन्तान नभएपनि चेलिर माइतिको सम्बन्ध विस्तार भएसँगै हुने ममता, आदर, सदभाव, सम्मान आफै विकास भएर आउँछ त्यो प्राकृतिक रुपमै स्थापित हुन्छ । तर त्यो दिन उनको लागि यस्तो भएन । जुन समाजमा उनी आफ्नो सहोदर भाइप्रति आदर, सम्मान, माया, ममता अनि स्नेह पालेर सानैदेखि साँचेर राखेकी थिइन् । त्यो सबै क्षणभरमै सबै चकनाचुर बन्न पुग्यो ।

घटना गएको १२ फागुनको हो । त्यस दिन विसाखा(नाम परिवर्तन) मध्याहृनमा आफ्नै कोठामा बसीरहेकी थिइन् । उनी आफ्नो घरमा त्यसमा पनि आफ्नै कोठमा बसेकी बेला कुनै कुराको डर लाग्नुपर्ने के जरुरी रहन्छ र ? त्यसमा पनि आफ्नो भाइ छ । नजिकै समाज छ । उनीमा आत्मविस्वासले दरिलो जरा गाढेको नै थियो । तर त्यस दिन दिउँसो १२ बजेको समयमा आफ्नो भाइको राक्षसी अनुहारमा विसाखा उम्कन सकिनन् । विसाखालाई आफ्नो भाइ भनाउँदाले घरमा कोही नभएको अवसरमा एक्कासी समात्यो जर्बजस्ती हातमा मुखमा कोच्यो । अनि ग¥यो बलात्कार ।

आफ्नै भाइबाट बलात्कारको शिकार भइन २२ वर्षीया विसाखा र यतिखेर उनी बेसहारा बनेकी छन् । उनलाई आफ्नै परिवार र आफन्तजनले घरबाट निकाले । यही नीउमा उनले जागिरबाट समेत हातधुनु प¥यो ।

काठमाडौंका उपत्यका भित्रैको शहर भक्तपुरमा यो घटना भएको हो । अझै पनि बलात्कारका कैयौँ घटना गुपचुप नै राखेर भित्रभित्रै मिलाउने र इज्जत जान्छ भनेर लुकाउने प्रवृत्ति हाबी भएको नेपालीे समाजमा बलात्कार गर्ने भाइलाई सजाय दिलाउँदा उनले स्याबासी पाउनुको बदला उनी एक्कासी बेसहारा भइन् ।

उनले आफु भाइबाट बलात्कृत भएको कुरा घरमा सुनाइन् । तर घरमा आमा, दिदिले समेत विस्वास गरेनन् या समाजमा गाल ढाक्न उनीहरुले उल्टै उनैलाई धम्काइयो । अनी उनी आफ्नै घरमा असुरक्षित भइन् । घर र समाजले मात्रै उनलाई निकालेको होइन, तीनवर्षदेखि आफू काम गर्दै आएको काठमाडौँ रत्नपार्क्स्थित फन पार्कको मालिकले समेत जागिरबाट विदा दिए । उनी बेरोजगार बन्न पुगिन् ।

उनले रुँदै भनिन् ˗ ‘घरमा दिउँसै भाइले बलात्कार ग¥यो । आफ्नै घरमा म असुरक्षित भएँ । भाइविरुद्ध उजुरी दिएको भन्दै परिवार र आफन्तले निकालिदिए । न जाने ठाउँ छ न बस्ने ठाउँ ।’

उनले थपिन् ˗ ‘घटना थाहा पाएपछि फनपार्क सञ्चालकले जागिरबाट निकालिदियो । बिहे गरेर जीवनभर सँगै बाँच्ने कसम खाएको प्रेमीले छाडिदियो । अब म कहाँ जाउँ, के गरौँ ?’

स्नातक तहको अध्ययन गरिरहेकी उनी अहिले काठमाडौँको एउटा गल्र्स होस्टेलमा बस्दै आएकी छन् । विगतमा आफूले काम गरेर बचत गरेको पैसाले मासिक ७ हजार तिरेर बसे पनि अहिले पैसा सकिन लागेर उनमा चिन्ता थपिएको छ ।

उनी भन्छिन् ˗ ‘म पढाइलाई निरन्तरता दिन चाहन्छु । स्नातकोत्तरसम्म पढ्ने त्यसपछि लोकसेवाको परीक्षा उत्तीर्ण गरी सरकारी नोकरी गर्ने चाहना छ’, तर अहिले बाँच्नकै लागि नोकरीसमेत नहुँदा उनका इच्छा र सपनाहरु चकनाचुर भएका छन् ।

आठ वर्षअघि बुबा बितेपछि ट्राफिक प्रहरीमा रहेका दाइ, थिमिकै एक विद्यालयमा पढाउने दिदी र आफैँले घर व्यवहार धान्दै आएको बताउने उनी भन्छिन् ˗’भाइले मलाई बलात्कार गरेको कुरा आमा, दिदी, आफन्त कसैले विश्वास गरेनन् । परिवारका सबैले जाहेरी फिर्ता लिनू भनेर धेरै पटक दबाब दिए । भाइबाटै थप असुरक्षित महसुस गरेर मैले मानिनँ । त्यसपछि परिवार पनि आफ्नो भएन ।’

गत फागुन २८ गते भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले जबर्जस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार छ वर्ष कैद र हाडनाता करणी १ नं ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्य भन्छिन्, ‘आफ्नो सबै भएर पनि बेसहारा बन्नुपरेको उनलाई कसैले रोजगारी दिए जीवन अलि सजिलो हुने थियो ।’
(सामाजिक असजिलोका कारण पीडितको नाम परिवर्तन गरिएको छ)

Facebook Comments

सम्बन्धित

Leave a Comment