नक्कली प्रमाणपत्रधारी डाक्टर कारबाहीमा

समाज

एविसि खबर
काठमाडौं, २४ चैत । नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी चिकित्सा विज्ञान अध्ययन पास गरेका १७ जना डाक्टरलाई निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदले गरेको छानबिन क्रममा नक्कली प्रमाणपत्र भेटिएका चिकित्सकलाई अनुसन्धानपछि अदालती कारबाही जारी रहँदा काउन्सिलले निलम्बन गरेको हो ।

निलम्बनमा परेका १७ जना काउन्सिलमा स्थायी र अस्थायी प्रमाणपत्र लिएर अभ्यास गरिरहेका थिए । काउन्सिलद्वारा जारी सूचनाअनुसार निलम्बित हुनेमा बिनिता यादव, सुजितकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद दास, रामबाबु गिरी, तुलसीकुमार महतो, भगवान केबट सल्लाह, सन्तोषकुमार यादव छन् । त्यसैगरी, अन्य निलम्बितमा शैलेन्द्रकुमार महतो, श्यामबाबु शाह, मे कमरुल हक, कल्याण विश्वास, पशुपतिकुमार चौधरी, मो।अहमद सिद्धिकी, अफजल हुसैन, राजीवकुमार झा, पृथ्वीनारायण यादव र प्रदिप गुप्ता छन् ।

काउन्सिल प्रवक्ता डा.कृष्ण अधिकारीले उनीहरुको शैक्षिक प्रमाणपत्रबारे प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा मुद्दासमेत दायर गरिसकेकाले अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको हो । उनले नक्कली प्रमाणपत्र पेस गरेर पढेको पुष्टि भइसकेका चिकित्सकले व्यक्तिसमेत मुद्दाको अन्तिम किनारा नलाग्दासम्म काउन्सिल दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुन नपाउने निर्णयसमेत काउन्सिलले गरेको छ ।

निलम्बनमा परेका व्यक्तिले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर एमबिबिएस लगायत अध्ययन पूरा गरे पनि काउन्सिल दर्ता भएर प्रमाणपत्रसमेत लिएर अभ्यास गर्दै आएका थिए । प्रहरीले छानबिन क्रममा ठूलो संख्यामा नक्कली प्रमाणपत्रधारी चिकित्सक रहेको भन्दै काउन्सिल दर्ता भएका सम्पूर्ण चिकित्सकको प्रमाणपत्रबारे अनुसन्धान र छानबिन थालिसकेको छ।

Facebook Comments

Leave a Reply