कथा : मुग्लानको पीडा

अरुणिमा

– अर्जुन दुङमेन राई

सानो भए पनि व्यवस्थित घर होस्, घरमा ‘मुनामदन’की मुनाजस्ती एउटी श्रीमती र एउटा गुणवान् सन्तान होस् । आमाको आशिर्वाद सधैँ पाइरहुँ । यस्तै थियो मेरो चाहना १८ वर्षअघि । म नाबालक छँदै बुबाले धर्तीबाट विदा लिएको कुरा सुनाउँथिन् मेरी आमा । तापनि, दुःख–सुख ढिकी–जाँतो गरेर आमाले मलाई हुर्काइन् । पहाडको चिसो हावापानीमा हुर्केको लक्का जवान लेकको हावापानीले गर्दा रातो परेको मेरो सुन्दर अनुहार, दल्छिन् ढुङ्गामा हेर्दा आफैँले आफ्नो छायाँ देखिनेजस्तो ।

युवा अवस्था गाउँमा एक चोक्टा पाखो बारी जोतेरै बिताएँ । मलाई विहे गरी बुहारी भित्र्याउन खुब कर गर्थिन् आमा । सम्पत्तिको नाममा त्यही एक चोक्टा पाखो बारी र बाँसको टाटीले बनाएको सानो घर । त्यसैले मैले आमाको चाहना अस्वीकार गर्नुप¥यो । गुलाब काँडैकाँडाबीच फुल्ने फूल जसलाई सबैले माया गर्छन् । तन्नेरी–तरुनी, युवायुवती सबै बीचको उपहार दिने चीज बन्छ गुलाब । इन्द्रमाली फूल एउटा सुन्दर हरियो र सानो वृक्षमा सुगन्धित अनि मगमग बासनाका साथ फुलेको हुन्छ । तर, त्यो फूल किन उपहार दिन लायक फूल भएन ? मेरो मनमा यस्तै कुरा खेल्यो । म आफू सुन्दर छु, जवानीको बासना दिने उमेर हो मेरो तर बासनादार इन्द्रमाली फूल पनि कसैको उपहार दिने फूल नबनेझैँ गरिबीको कारण म पनि बिहे गर्न आफूलाई लायक ठानिनँ ।

‘देश÷परदेश घुमेर आओस्, धेरै–धेरै सम्पत्ति कमायोस्, बाठो भयेस्, दुश्मनको हात नपरेस्, फटाहाको पास नपरेस्, घर नबिर्सेस्, म बूढी आमालाई सम्झेर चाँडै फर्की आयेस् है बाबु,’ हिँड्ने बेला आमाले मलाई भनेकी थिइन् । लाठे होउञ्जेल मलाई आमाले पालिन् । बुढेसकालमा उनलाई हेरचाह गर्ने र माया दिने बेला छाडेर हिँड्दै गर्दा आमाको मन न हो, आशीर्वाद दिँदै गरे पनि तरक्क आँसु खसालिन् । ‘आमा म मुग्लान जाँदैछु धेरै सम्पत्ति कमाएर चाँडै घर फर्किन्छु । आमा हिँड्ने बेला नरोऊ, अशुभ हुन्छ र त्यो तिम्रो आँसुले मलाई भेट्छ,’ मैले आमालाई भनेको थिएँ । धन कमाउने आसमा घर छाडेको ठ्याक्कै १६ वर्ष भइसकेको थिएँ ।

मेरा खुट्टाहरु सुनिएर देखिरहेका थिए । खोच्याइँरहेको थिएँ । सातादिनजति हिँडेर मेची नदी पार गरी इन्डियाको पानीट्याङ्की पुगेको मात्रै थिएँ । लामो बाटो हिँडेर थाकेको थिएँ । सानोमा आमाले पात्लेको पातमा लाम्पाते सुर्ती बेरेर बिँडी तान्ने गर्थिन् । त्यही देखेर मैले पनि सिकेकाले थकाइ मार्न घरबाट लाम्पाते सुर्ती र बाटोमा पात्लेको पात टिपेर गोजीमा बोकेको थिएँ । बाटो छेउ बसेर उही सुर्ती बेरेर तान्दै थिएँ । एक सर्को नतान्दै बायाँतिर नजिकैबाट मजस्तै चार युवा ठाटिएर आए । उनीहरुले मसँग भने, ‘ओ दोस्त ! ऐसा क्या पिते हो ? बडाबडा सिटी में सिग्रेट मिल्ता हैं । और लिजिए एक सिग्रेट ।’ यसो भन्दै एक जनाले एक खिली चुरोट आफ्नो स्टकोटको गोजीबाट झिकेर दिएथ्यो ।

सहर– बजारमा धनीमनी व्यक्तिहरु म जस्तै साधारण लवाइमा हिँड्दा रहेछन् । अनि, नमच्चिने पिङको सय झट्का भने झैं आफूसँग फुटेको कौडी पनि नहुनेहरु भने सुटबुटमा ठाटिएर हिँड्दा रहेछन् । म त गाउँले न हो मेरो लवाइ त्यस्तै थियो । बाबुको सहाराबिना आमाले दुःख गरेर हुक्र्याएको गरिबको छोरो म, त्यही पनि कमाउन भनी मुग्लान हिँडेको मान्छेसँग के नै हुन्थ्यो र ! तापनि, बैंशमा स्याल पनि घोर्ले हुन्छ भनेझैं म युवा थिएँ । लुगा पुराना भए पनि धोएर सुकिलै पारेर लगाएको थिएँ सायद ! ती चार जनाले सोचेछन्, ‘योसँग धेरै पैसा छ, त्यसैले आफू बच्ने मेलो गर्न साधारण भेषमा छ । अब यसको सबै लुट्नुपर्छ ।’

यस्तै पाप चिताएर मलाई तिनीहरुले टुनामुना (विषदी हालेको मादक पदार्थ) गरी चुरोट पिलाएछन् । म त सोझो मान्छे । गलेको बेला कस्तो मिलनसार र दयालु साथीहरु भेटिएछन् भन्ने ठानेर उनीहरुले दिएको चुरोट दुई÷चार सर्को पिएथेँ । त्यसपछि मलाई केही थाहा भएन । म त्यो चुरोटले लट्ठ परेपछि पश्चिम बंगालमा पर्ने कुजबिहारको झाडीमा लगेर मैले लगाएको लत्ताकपडा सबै खोलेछन् । सम्पत्ति त मसँग के नै हुन्थ्यो र लगोस् बजियाहरुले ! जब म होसमा आएँ, मेरो आङमा केही कपडा थिएन । थियो त मेरो अण्डकोष छोपेको सानो भित्री कट्टु मात्र ।

वरिपरि गोलीगट्ठा बोकेका मान्छेहरु देखिन्थे । तिनीहरु प्रहरी रहेछन् । मलाई तिनीहरुले थोत्रो भ्यानमा हालेर थाना पु¥याए । मलाई त लाग्दैनथ्यो कि उनीहरु मेरो बचाउ गर्दै छन् । तर, होइन रहेछ । कुन ठाउँ हो थाहा पाइनँ । त्यही थानाबाट पनि करिब तीन÷चार घन्टा राखेर मलाई तुरुन्तै अर्को ठाउँ लगे । हतकडी लगाएर त्योभन्दा अझ नौलो ठाउँमा लगेर राखे । घरबाट कमाउन मुग्लानिएको मलाई किन यसो गरिरहेछन् यिनीहरुले ? केही थाहा पाइनँ मैले । मसँगै अरु पनि त्यहाँ त्यसैगरी राखिएको थियो । खान नपाएको कति दिन भइसकेको थियो । जीउ दुखाइ उस्तै । अनि, मैले त्यहाँको सुरक्षामा बसेका एक अधबैंसे प्रहरीलाई सोधेँ, ‘मलाई किन यसरी राखेको हो दाई ?’

त्यसले के भन्योभन्यो आफ्नै भाषामा । हो पनि ! गाउँमा सुनेको थिएँ, सालाङ् जाँदा हिन्दी बोल्नुपर्छ । सम्झेँ, अनि मात्रै यति बुझेँ– हिन्दीमा बोल्न भन्दैथ्यो । फेरि मैले सोधेँ, ‘साहेब ! मेरा क्या गल्ती हुवा हैं ? मैने क्या गलत किया था ?’

त्यसपछि त्यो प्रहरी हराएको थियो । एकै छिनपछि यति मोटो ठेली बोकेर आयो अनि उसले मलाई देखायो । त्यसमा मेरो बारेमा बनाएका कागजपत्र धेरै थिए । म अचम्म त त्यहाँ परेँ– जुन ठाउँमा म घाइते र नांगो अवस्थामा कुजबिहारको झाडीमा डाकाहरुको हातबाट बचेर बिउँझिएथेँ । उसै ठाउँको फोटो । फोटोमा नजिकै एक सुन्दर युवती रोइरहेको देखिन्थ्यो । उनको शरीरभर चोटैचोट थियो । योनीबाट रगत बगिरहेजस्तो । कुनै फोटोमा मैले ती युवतीसँग अँगालो पनि मारेको थिएँ । यस्ता फोटा र त्यो कागजको ठेली देखाउँदै त्यो प्रहरीले मलाई भन्यो, ‘तुम् सोह्र सालके बाद् मे यहाँ से जाना हैं ।’

सपना हो कि विपना ! रात र दिन पनि थाहा छैन । पिँजडामा थुनेर राखेको सुँगाजस्तो गरेर दिन बिताउन थालेँ । समयक्रममा साढे ६ वर्षपछि एक गहुँगोरो मान्छे मलाई लिन आयो । अनि, उसले भन्यो, ‘जाऊँ बाबु हिँड…………!

न चिनेको मान्छे, चिनूँ पनि कसरी त्यो बिरानो ठाउँमा । म त १६ वर्ष पूरा गर्न औंलो भाँच्दै बसेको थिएँ । उसले त्यसो भन्दा हर्षले मेरा आँखा रसाए । त्यो क्षण नबिर्सने गरी मेरो दिमागमा बसेको छ । उसले सरासर घर लग्यो । ऊ सिक्किमको ‘राई सुवेदार! रहेछ, पेन्सनमा निस्किएको । कुजबिहारमा डाकाले गुवाहटीका ठूला व्यापारीको छोरीलाई अपहरणपछि बलात्कार गरी मलाई दोषी बनाउन मसँगैको फोटो खिँचेका रहेछन् । प्रहरी आउँदै गरेको थाहा पाएपछि मलाई दोषी बनाउन मसँगैको फोटो खिँचेका रहेछन् । प्रहरी आउँदै गरेको थाहा पाएपछि मलाई बेहोस अवस्थामै र ती युवतीमाथि मानसिक तथा शारीरिक रुपमा सख्त घाइते बनाई डाकाहरु क्यामेरा छाडेर भागेछन् । ती सबै घटनाक्रम सुवेदार साबेवले देखेका रहेछन् । उनले त्यो घटना देखेको हुँदा मेरो काण्डमा मुद्दा दाखिला गरी मुद्दा जितेछन् । मुद्दा फैसला भएकै दिन मलाई त्यहाँ लिन आएको कुरा उनैले सुनाए ।

यो दुनियाँमा कैयन् पापीहरु छन् भने धर्मती पनि उत्तिकै रहेछन् भनेर सोच्दै सुवेदार साबेवलाई भनेँ, ‘मलाई साहेबले यत्रो ठूलो ऋण लगाउनुभो, यसलाई म एउटा गाउँले गरिबले कसरी चुक्ता गरुँ ? भन्नुस् ! यो ऋण तिर्न साहेब जे भन्नुहुन्छ, म त्यही गर्न तयार छु ।’ साहेबले हाँस्दै भने, ‘अन्यायमा परेकालाई न्याय दिलाउनु मानवीय दायित्व हो, त्यसैले तिमीले केही गर्नुपर्दैन । यो मेरो धर्म हो ।’

मैले यो ऋण त चु्क्ता गर्नेपर्छ भन्ने जोड गरेपछि उनले भने, ‘त्यसो भए मेरो घरमा बूढीआमा हुनुहुन्छ, उहाँसँग तिमी आफ्नै आमा सम्झेर आनन्दले बस । तिमीलाई खान–लाउनको सुर्ता गर्नुपर्दैन ।’

यसपछि मैले त्यो जेलमा सडिएर बस्नुपर्ने बाँकी साढे नौ वर्षसम्म अब त्यहाँ सेवा गरेर बस्ने वचन दिएँ । यसोभन्दा अझै उनले मलाई स्पष्ट्याए, ‘मविरुद्ध चलाएको सरकारी मुद्दाको तारिख खेपिदिन जाने कोही नभएको भए १६ वर्षपछि पनि अपहरण र बलात्कार काण्डले मैले जीवनभर जेल सजाय पनि भोग्नुपथ्र्यो रे । किनकि, त्यो बलात्कारमा परेकी केटी अस्पतालमा उपचार गराउँदागराउँदै मरिछे ! मलाई ज्यानकाण्ड पनि लाग्न सक्थ्यो रे !’

मलाई त त्यो हालतमा पु¥याए, पु¥याए । बिचरी ती युवतीलाई शारीरिक पीडा दिएर मर्नसम्म बाध्य तुल्याएछन् डाँकाहरुले । भगवानले ती पापीलाई पनि त्यसैगरी सजाय दिऊन्, सोचेँ ।

सुवेदार साहेबका छोरा थिएनन् । उनी आधुनिक शैलीका मान्छे थिए । मेरा लागि जे भने छोरीहरु नै पुग्दा छन् भन्थे उनी । सधैँ छोरीहरुको कर्ममा खुसी हुन्थे । कति दयालु ! कति मायालु ! पाँच छोरी रहेछन्, सबैको बिहे भइसकेको । घरमा साहेब–साहेबनी र आमा गरी ती जना थिए, म थपिएपछि चार भयौँ ।

आफ्नी आमालाई सम्झिएर म दिनमा एकपटक झस्किरहनथे । जब–जब साहेबकी आमा खोक्न थाल्थिन् मेरी आमाले पनि लाम्पाते सुरती पात्लेको पातमा बेरेर तान्दै गरेको बेला खोकेको यादले मलाई सताउँथ्यो । म साहेबकी आमाको हातखुट्टा तेलले सेकिदिन्थे । अनि, सम्झनथेँ, मलाई पनि मेरी आमाले सानोमा यसैगरी तयो पहाडको चिसो हावापानीमा तेलले सेक्दै हुर्काएकी हुन् । तर, आज म गरिबीका कारण मुग्लान पस्नुप¥यो । जन्म दिने आमाको नभएर कर्म दिने आमाको हातगोडा यसरी सेकिरहेछु – यस्तै लाग्थ्यो मलाई ।

सिक्किममा पनि मलाई दोस्रो जन्म दिने साहेबकी आमा हुन् । मेरी पनि आमा नै हुन्, हुनका लागि । तर, यता मातृभूमिमा जन्म दिने आमालाई कसरी बिर्सन सक्थेँ र ! त्यहाँ साढे नौ वर्ष बिताएर साहेब अनि उनको परिवारसँग विदा मागेँ । घरमा पालेको पशुपनछीलाई त धेरै समयपछि तयसै छाडिदिन माया लाग्छ । सुबेदार साहेब र उनको परिवारलाई पनि खल्लो लाग्नै नै भयो । उनीहरुले पनि माया गर्ने नै भए । साहेबकी आमाले ‘ल….., ल नानी होसियारसाथ जाउ, बिहेदान गर ! चिरञ्जीवी हुनु !’ भन्दै आशिर्वाद दिइन् । साहेबनीले थैलीबाट मलाई केही रुपियाँ झिकेर यौटा सानो कपडाको टालोमा पोको पारी यो तिमीलाई बाटो खर्च है बाबु भन्दै दिइन् । उनले त बाटो खर्च मात्र होइन, मनग्ये रुपैयाँ दिएछिन् । धन र मन दुवैले भरिपूर्ण परिवार । अन्तिममा सुबेदार साहेबले– ‘ल बाबु जाऊ त ! कहिलेकाँही आउँदै गर्नु, आउन नबिर्सनु’ भन्दै हात मिलाए । म खुसीका साथ सबैलाई प्रणाम गर्दै बिदा भएँ ।

मेरो यो टाटीले बनेको घर ढुङ्गा र माटाको गारोमा परिवर्तन हुन सकेन । घरको छाना पनि छाल्न सकिनँ । सम्पत्ति कमाएर सुखमय परिवार बनाउन म मुग्लान लागेँ । तर, गरिबको सपना साँच्चीकै सपना नै हुने रै’छ । मैले मुग्लानमा भोगेको दुःख र पीडा दन्तेकथा सावित भयो । घर फर्किएको पनि मंसिरमा दुई वर्ष पुग्यो । कमाएर केही ल्याइदिन नसके पनि आमाको पाउमा दर्शन गरुँ भनेर आतुर हुँदै दुई सातामा गाउँ आइपुगेको थिएँ । धन्य छ भगवान !

आमाको केश सेतै फुलिसकेको अनि दमरोगले ग्रस्त हुँदै भए पनि मेरो बाटो कुरिबसेकी थिइन् आमाले । १६ वर्षपछि पनि मैले आमाको पाउमा दर्शन गर्न पाएँ । मेरो यो दोस्रो खुशीको क्षण रह्यो । मुग्लानबाट मैले कमाएर त के ल्याउन सकेँ र ! म मुग्लानेको दिनदशा त्यस्तै प¥यो । तिनै सुबेदार साहेबनीले बाटो खर्च दिएर पठाएकी थिइन् । त्यही पैसाले आमाको उपचार गराउनसम्म पुग्यो ।

सहारा चाहिने नै भएकाले केही महिनापछि मैले एक परिपक्व महिलासँग बिहे गरेँ । अहिले मेरो एउटा सन्तान पनि छ । आमाले पनि ८० वर्ष पूरा गरिन् । उनी कान थोरै सुन्ने र आँखा एकदमै कम देख्छन् । मैले जे जति दुःख भोगे पनि अहिले आमाको सुनिदिने कान र देख्ने आँखाको सहारा बन्न सकेको छु । यसैमा म खुसी छु । अझै मेरी श्रीमतीले मैलेभन्दा धेरै आमाको हेरचाह र बच्चाको रेखदेख गर्छिन् ।

म समयसमयमा ज्यामी काम गर्छु । के गर्ने ? जिन्दगी चलाउन हरेक गर्नैपर्ने, भोग्नैपर्ने रहेछ । अब यतिखेर मेरो चित्तबुझ्दो सहारा भने मेरी श्रीमती छिन् । उनी दुःखमा आत्तिदैनन् । उनलाई भौतिक सुखसुविधा चाहिँदैन । बरु मलाई मेरो खाटा बसेको घाउ बल्झेको बेला भन्ने गर्छिन्, ‘सुख त मात्र दुई दिनको रामछायाँ हो, दुःख नै हामी गरिबको जिन्दगी हो ।’ त्यसैले नआत्तिनुस्, हामी छौँ त सबै चीज छ । बरु यो सन्तानको ेभविष्य राम्रो बनाउन सक्नु नै हाम्रो खुसी हुनेछ । किनकि, उसले हामी जस्तै समस्या झेल्नु नपरोस् । त्यसैले अब हामीले हाम्रो बारेमा हैन यो हाम्रो सन्तानको बारेमा सोच्नुपर्छ ।’

यसरी उनले सम्झाउँदा मलाई लाग्छ, नारीको सहयोग परेको बेलामा पुरुषका लागि घाउ निको पार्ने मलम रहेछ भने, पुरुष नारीका लागि । त्यसैले जीवनमा नर र नारी अभिन्न पाटा रहेछन् ।

म बालीनालीको समयमा त्यही आफ्नै एक चोक्टा पाखो बारी जोत्छु । गरिब गाउँले जीवनको चक्र यस्तै हुँदोरहेछ । दुःखीका लागि मुग्लान पनि उस्तै हुँदोरहेछ । मलाई छाडेन त्यही एक चोक्टा पाखो बारीले ।

अहँ ! छाडेन यो पाखो बारीले !

(घुम्तीबीचका पर्खालहरु कथा संग्रहबाट)

Facebook Comments

Leave a Reply