प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

एविसि खबर
काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकाका प्रहरी हुँ भन्दै ठगी गर्दै हिड्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको विभिन्न स्थानमा छापा मारी मुद्धा मिलाइदिन्छु भन्दै नक्कली प्रहरी बनी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कलङ्की, बानेश्वर, सामाखुसी, ठमेललगायतका स्थानमा मदिरा, खाद्य पसलमा प्रहरी बनी छापा मार्ने अनि मुद्धा मिलाइदिन्छु भन्दै रकम असुल गर्ने गुल्मी गुवादी–८ का दीपक भन्ने टोपबहादुर कुँवर, काभ्रे, चौंरी–३ का गोविन्द चौलागार्इं, प्यूठान, बिजुली–९ का निमबहादुर कुँवर र मोरङ, विराटनगर–६ का सुनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूका साथबाट १४ थान ब्याक लेभल मदिरा तथा भारतीय रुपैयाँ १६ हजार पाँच सय र नेपाली रुपैयाँ ६० हजारसमेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूले छापा मारेका पसलका व्यापारीलाई बारम्बार फोन गरी मुद्धा मिलाइदिन्छु भन्दै थप रकम माग्ने गरेकोसमेत पत्ता लागेको छ ।

यसैगरी प्रहरीले लामो समय देखि बैंकिङ कसुरमा फरार अभियुक्तलाई समेत पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट रु नौ करोड कर्जा लिएर ठगी गरेका काठमाडौं गागलफेदीका ४७ वर्षीय पुष्करराज खड्कालाई पक्राउ गरेको हो । खड्काले पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी खडा गरी रकम अपचलन एवम् बैंकिङ कसुर गरेका हुन् ।

महाशाखाका अनुसार पुनरावेदन अदालत, पाटन ललितपुरबाट ०७१ वैशाख २९ गतेको फैसलाले उनलाई तीन वर्ष कैद र नौ करोड बिगो भराई जरिवाना तोकेको थियो । प्रहरीले खड्कालाई बौद्धस्थित बाहुनधाराबाट आइतबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि काठमाडाँै जिल्ला अदालत पठाइएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment