कविता : नारि

–शारदा पौडेल

ढिकी जातो गर्नु पर्छ पकाएर खान
नत्र भने घरमा अन्न हुन्न एक माना
इन्धन छैन पकाउनलाई दाउरा खोज्न जान्छु
त्यहीबेलामा वस्तु भाउ सँगै जङ्गल लान्छु
दाउरासँगै वस्तुभाउ अनि घाँसको भारी
सयौं ठाउँमा टाली लाउन परेको छ सारी
ढिलोसम्म सुत्न मन लाग्छ मलाई पनि
सबेर नै उठ्छु सधैं काम सिध्याउन भनी
बडार्कुडार दैलो पोतो सबेरै म गर्छु
गाग्री बोकी पानी लिन खोलीतिर झर्छु
छोराछोरी पढ्न जान्छन् खान दिन पर्छ
ठिक्क पार्नु पर्छ तिन्लाई दिउँसो खाजा खर्च
नौ बजे नै खाना दिन्छु पकाएर खाना
अनि मलाई हतार हुन्छ मेलापात जान
फलफूल अनि तरकारी लगाउँछु घरमा
जहान अनि वस्तुभाउ सबै मेरै भरमा
मेलाबाट आएपछि गोठतिर जान्छु
दूध दुहुछु बाल्टी भर्छु डेरीतिर लान्छु
गोबर सोत्तर घाँस पराल सबै सकिकन
ठुस्स बस्न खोजी रहन्छ यो थाकेको मन
थकाइ लाग्यो सकिन भो भन्न पाउनु छैन
कहिल्यै पनि श्रीमानले काम सघाउने हैन
घर धन्दा गोठ धन्दा सबै एक्लै गर्दा
राम्रोसँग खान पाउन्न तीनदिन पर सर्दा
अन्न फल्छन् लहलह बेच्ने स्वामी राजा
उन्लाई भने होटेलतिरै खानुपर्छ खाजा
घरै आऊ घरै खाऊ थोरै खर्च गर
भन्न खोज्छु तर कहाँ भनी सक्नु छर
सानो ठूलो व्यबहार जे छ मैले गर्नु पर्छ
बोल्न भने नपाइ मुखमा ताल्चा मार्नु पर्छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment