
यौवनको हिरासतबाट
– नवीन प्यासी , खोटाङ
मध्यराति
हावाले सुस्तरी अगांलो हालेपछि
लामो–लामो स्वास तानिरहेकी सल्लाछेउमा
बास बसेकी चखेवीलाई
जीवन कस्तो लाग्दो हो ?
समयले दगुरिरहन नछाडेपछि
वैशको सगरमाथा चढेकी फूलको छातीमाथि
हिमपहिरो ल्याउन खोज्ने भमराहरुलाई
जवानीको अत्तर कस्तो लाग्दो हो ?
धरातल बिर्सेर बेसुर हामफाल्ने झरना
कतै चट्टानमा नमज्जाले ठोक्किएपछि
घिस्रँदै हिँड्दा…
आफैलाई आफू कस्तो लाग्दो हो ?
यस्तै प्रश्नहरुको जंगलमा
समयको बञ्चरोले उमेरलाई चिराचिरा बनाएपछि
समातिएको हुँ यौवनको जासुसबाट
र थुनिएको हुँ केही समयको लागि…
आज यहि जेलबाट
पत्र लेख्दैछु सुर्यलाई
उदाउन र अस्ताउन छाडिदिए हुन्थ्यो,
पत्र लेख्दैछु पृथ्वीलाई
घुमिरहने नृत्य बन्द गरिदिए हुन्थ्यो,
र पत्र लेख्दैछु घडीलाई
सेकेन्ड, मिनेट र घण्टाका गाडी नहाँकिदिए हुन्थ्यो ।
लाग्छ, यही जेलभित्र संयमता गुमाइरहुँ ।
फेरि सोच्छु,
यसरी नदीलाई बेसुरले थुनिरहँदा
चिसो हिमाल पगालेर उर्लिरहेका
स–साना खोलाहरुले के भन्लान् ?
आकाशमा हड्ताल गरेर
पानी खसाल्नलाई चम्किरहेका
बादलहरुले के भन्लान् ?
यसरी जबरजस्ती गरिरहँदा
धातुहरु गोलबद्द भएर
परिवर्तनको धक्का दिइरहेका
लाभाहरुले के भन्लान् ?
अनि च्यातिदिन्छु ती पत्रहरु
र फालिदिन्छु,
अस्तित्व बेचेर किनेको डस्टबिनमा
र निस्कन्छु खुसीसाथ यौवनको
हिरासतबाट ।