समाचार लेखेकै आधारमा पत्रकारलाई धम्की

एविसि खबर
काठमाडौं, १७ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सुनसरी अध्यक्ष जनकऋषि राईलाई समाचार लेखेकै कारण धम्की आएको छ । उनलाई पुर्वाञ्चलबाट प्रकाशन हुने पूर्णाङ्क साप्ताहिकमा ‘भगवान्को पनि नागरिकता’ नामको समाचारको प्रकाशन गरेपछि धम्की आएको हो ।

विगत निकै लामो समयदेखि आफुलाई भगवानको उपमा दिँदै आएका उदयपुर जिल्ला मैनामैनीका भक्तबहादुर राईका अनुयायीहरुले यस्तो धम्कि दिएका हुन् । आएको धम्कीप्रति नेपाल पत्रकार महासङघले आफनो ध्यानाकर्षण भएको जनाएको छ । महासंघले विज्ञप्तिमार्फत यस्ता धम्की अत्यन्त निन्दनीय रहेको भन्दै यस्को भत्सर्ना समेत गरेको छ ।

महासंघले मङ्गलबार यहाँ प्रेस विज्ञप्ति जारी गर्दै पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर कथित भगवान भक्तबहादुर ‘गड एन्जल’का अनुयायीले राईलाई धम्की दिएको भन्दै तिनीहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसमक्ष जोड्दार माग गरेको छ ।

प्रकाशित विषयमा कुनै कुरा चित्त नबुझेमा कानुनी उपचार खोज्नुको बदला समाचार लेख्ने पत्रकारमाथि धम्की दिनु अत्यन्त निन्दनीय रहेकाले दोषी व्यक्तिलाई कानुनी प्रक्रिया अघि बढाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment