हावाहुरीले चिम्नी भाँचियो

समाचार

एविसि खबर
गोरखा, १६ चैत । सोमबार एक्कासी आएको हावाहुरीले गोरखामा टायर उत्पादन गर्ने नेपालको एक मात्र गोरखकाली रबर उद्योगको धुवाँ फाल्ने चिम्नी भाँचिएको छ । गोरखाको मझुवा देउरालीमा रहेको उद्योगभित्र रहेको करिब ५० मिटर अग्लो चिम्नी हावाहुरीले ढालेको हो ।

उद्योगका मजदुर नेता इश्वर परियारले पचास मिटर अग्लो चिम्नी हावाहुरीले भाँचेको जानकारी दिएका छन् । उनले भने, ‘भूकम्पले हल्लाएर कमजोर भएको चिम्नी बेजोडको हावाले ढाल्यो ।’

भूकम्पपछि बन्द रहेको गोरखकाली रबर उद्योग कच्चा पदार्थको अभावमा अझै बन्द छ । यहाँका २ सय ८० भन्दा बढी मजदुरले गत असोज महिनादेखि काम र पारिश्रमिक दुवै पाएका छैनन् ।

त्यस्तै हावाहुरीले उत्तरी गोरखाको लापु गाविसस्थित प्रभातकिरण माध्यामिक विद्यालयको टहरो उडाएपछि कक्षा ८ को आजको परीक्षा स्थगित गरिएको छ । हावाहुरीले टहराको जस्तापाता उडाएपछि नागरिक तथा नैतिक शिक्षा बिषयको परीक्षा स्थगित गर्नुपरेको विद्यालयका लेखा समितिका सदस्य सोमबहादुर गुरुङले टेलिफोनमा जानकारी दिनुभयो । हावाहुरीले जिल्लाका भूकम्पपीडितका टहराका साथै विद्यालयमा पनि क्षति पुगेको छ ।

हावाहुरी र असिनापानीले बारपाक, लाप्राक, घ्याच्चोक, सिम्जुङ, हंशपुर, मुच्चोक, छोप्राक, खोप्लाङ, लाप्राक, गुम्दा, लापु, उहिया, केरौंजा, काशीगाउँ, गोरखा नगरपालिकालगायत जिल्लाको अधिकांश क्षेत्रका भूकम्पपीडितको टहरा उडाएको छ ।

यस्तै असिनापानीले फलफूलका फूल झारेको किसानले गुनासो गरेका छन् । आँप, नासपाती, सुन्तलालगायत अन्य फलफूलको फूल झार्दा किसानलाई यसवर्ष घाटा लाग्ने देखिएको हो ।

Facebook Comments

Leave a Reply