दैनिक ३५ किलो सुन चाहियो

अर्थ, समाचार

downloadएविसि खबर
काठमाडौं, १६ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायीलाई दैनिक ३५ किलो सुन उपलब्ध गराउन सरकारसँग माग गरेको छ । विवाह, ब्रतवन्धको याममा व्यवसायीका लागि दैनिक ४० देखि ६० किलोसम्म सुनचाँदीको आवश्यकता पर्दछ । हाल व्यवसायीलाई दैनिक १५ किलो सुन उपलब्ध गराउँदै आइएको छ ।

महासंघले आफ्नो साधारणसभामा प्रमुखताका साथ यही मागलाई हरेक वर्ष उठान गर्दै आएपनि हालसम्म सुनुवाइ भएको छैन । महासंघले आयोजना गरेको तेस्रो साधारणसभामा संघका अध्यक्ष मणिरत्न शाक्यले सो मागलाई पुनः उठान गर्दै सरकारले सो माग पूरा नगर्दा बजारमा सुनको कालोबजारी, गुणस्तरमा समस्या र राजस्व चुहावट हुने गरेको बताए ।

यस क्षेत्रमा ५० अर्ब रुपैयाको लगानी रहेको र सात अर्बको वार्षिक राजस्व व्यवसायीले तिर्ने गर्दछन् । विसं ०४४ मा स्थापित सो संघ तीनवर्ष अगाडि महासंघमा रुपान्तरित भएको थियो । हाल महासंघअन्तर्गत २१ हजार व्यवसायी आबद्ध छन् ।

उनले सुनको कलात्मक गहना बनाउने कालिगढको अभाव, ग्यास तथा बिजुलीको अभाव, गरगहना निर्देशिका जारी नहुनु, निर्यातको कठिनाइ, यान्त्रिकीकरणको समस्याले सुनचाँदी धरापमा पर्दै गएको दुुःखेसो पोख्नुभयो ।

नेपाल रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले सरकार र सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ र रत्न आभूषण महासंघबीच विसं ०७० वैशाख १३ गते भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरे ।

सो सहमतिमा गरगहना निर्देशिका १५ दिनभित्र जारी गर्ने रहेको थियो तर दुईवर्ष बित्नलाग्दा पनि निर्देशिका जारी हुन सकेको छैन । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मरत्न शाक्यले सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ र नेपाल रत्न आभूषण महासंघ मिलेर आगामी जेठ ७, ८ र ९ गते अन्तर्राष्ट्रिय हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिए । नेपाली सुनचाँदी व्यवसायीले बेलायत, अमेरिका, जापान, भारत, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलियामा आफ्नो व्यवसाय विस्तार गरिसेकका छन् ।

पूर्वमुख्यसचिव तीर्थमान शाक्यले सुनचाँदी व्यवसायमैत्री बनाउन सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले गरगहना निर्देशिका शीध्र जारी हुने जानकारी दिए । नेपाल बैकर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेलले सुनचाँदीको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

Facebook Comments

Leave a Reply