चट्याङमा परि दुई गम्भीर घाइते

एविसिखबर
ताप्लेजुङ, १५ चैत । ताप्लेजुङमा सोमबार बिहान परेको चट्याङका कारण एक घरमा आगलागी हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् ।

ताप्लेजुङ नगरपालिका तीनस्थित आम्बोटे निवासी कृष्ण सापकोटा विकको घरमा बिहान करिब ५ः३० बजे चट्याङ लाग्दा आगलागी भई घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने सापकोटा र उनकी बुहारी अम्बिका घाइते भएको स्थानीय धनेन्द्र मादेनले जानकारी दिए ।

मादेनका अनुसार घरभित्रै रहेको अवस्थामा चट्याङ परेको थियो । आगलागीका कारण अम्बिकाको शरीरका विभिन्न भाग जलेको छ भने कृष्ण बेहोस अवस्थामा रहेको जनाइएको छ ।

घाइते दुवै जनाको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको बताइएको छ । मादेनका अनुसार आगलागी भइरहेको समयमा स्थानीयले उनीहरूलाई उद्धार गरेका थिए । सापकोटाको दुई तले फुसको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment