लोपोन्मुख आदीवासी चेपाङ समुदायको सङ्ग्रहालय बन्ने

समाचार, समाज

chepang_family1एविसि खबर
चितवन, १५ चैत । चितवनको सौराहामा लोपन्मुख आदीवासी चेपाङ समुदायको सङ्ग्रहालय बन्ने भएको छ । रत्ननगरको गामवेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको चेपाङ सङ्ग्रहालय पर्यटकीय नगरी सौराहामा विस्तार गर्न लागिएको हो ।

केन्द्रमा आश्रित चेपाङ बालबालिकाको भरणपोषणका लागि आर्थिक स्रोत जुटाउन सौराहामा सङ्ग्रहालय विस्तार गर्न लागिएको केन्द्रका अध्यक्ष केपीकरण शर्माले जानकारी दिए । सौराहाको मुख्य बजार नजिक सङ्ग्रहालय निर्माण गरेर पर्यटकलाई अवलोकन गर्ने व्यवस्था मिलाउने योजना रहेको उनको भनाइ छ । सङ्ग्रहालय अवलोकन गरेबापत पर्यटकले तिर्ने शुल्क चेपाङ बालबालिकाको भरणपोषणमा खर्च गरिने छ ।

व्यवसायीले हात्ती सफारी, जिप सफारी, डुङ्गा चढी, थारु संस्कृतिको अवलोकनलाई प्याकेज कार्यक्रम बनाएर पर्यटकलाई सेवा दिँदै आएका छन् । सङ्ग्रहालयमा चेपाङ जातिले प्रयोग गर्ने आदिमकाल देखिका ५३५ वटा सामग्री राखिने छ ।

सङ्ग्रहालयमा चेपाङ जातिले जीविकोपार्जनका लागि प्रयोग गर्ने र धार्मिक तथा सांस्कृतिक महत्व बोकेका पुराना सामान राखिने भएकाले पर्यटकका लागि आर्कषणको विषय बन्ने जनाइएको छ ।

चेपाङ सङ्ग्रहालयलाई पनि व्यवसायीसँग सहकार्य गरेर प्याकेज कार्यक्रमको रुपमा स्थापित गर्ने योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो । सौराहामा आउने पर्यटकमध्ये ८० प्रतिशतलाई चेपाङ सङ्ग्रहालयको अवलोकन गराउने प्रारम्भिक योजना रहेको छ ।

यस्तै केन्द्रले एसएसपी रमेश खरेललाई केन्द्रको मानार्थ सदस्य र केन्द्रका सल्लाहकार संयोजक डा ढुण्डीराज पौडेललाई अक्षयकोष व्यवस्थापन समितिको संयोजक बनाउने निर्णय पारित गरेको छ । केन्द्रमा १४१ जना चेपाङ बालबालिका आश्रित छन्

Facebook Comments

Leave a Reply