हाजिरीका कारण विद्यार्थी परीक्षाबाट वञ्चित

एविसि खबर
चितवन, १३ चैत । हाजिरी नपुगेका कारण जिल्लाका करिब २ सय जना विद्यार्थीले प्रवेशिका परीक्षामा सहभागी हुन नपाउने भएका छन् । जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार सामुदायिक र संस्थागत विद्यालयका गरी ७५ प्रतिशत हाजिरी नपुगेका उनीहरूले परीक्षा दिन नपाउने भएका हुन् ।

परीक्षा शाखाका प्रमुख ज्ञानहरि पौडेलका अनुसार यस शैक्षिकसत्रमा २ सय २० दिन विद्यालय खुलेर १ सय ९२ दिन पढाइ भएको थियो । पढाइ भएका दिनको ७५ प्रतिशत हाजिरी नपुग्ने विद्यार्थीले परीक्षा दिन नपाउने भएका हुन् । चितवन जिल्लामा यसवर्षको प्रवेशिका परीक्षामा १२ हजार ५ सय २७ विद्यार्थी सहभागी हँुदै छन् । जसमध्ये सामुदायिक विद्यालयका ७ हजार ६ सय ५१, संस्थागत विद्यालयका ४ हजार ७ सय ७४, खुलाका ७५, प्राविधिकका २६ र निजीतर्फका १ जना परीक्षार्थी छन् ।

गतवर्षको प्रवेशिका परीक्षामा चितवनबाट १० हजार ४७ जना सहभागी भएका थिए । यसवर्ष प्रवेशिका परीक्षाका लागि ३९ वटा केन्द्र तोकिएको छ । आगामी १८ चैतबाट हुने परीक्षामा जिल्लाभरबाट सामुदायिक ९३, संस्थागत १ सय १८, खुला विद्यालयतर्फ १, प्राविधिक विद्यालयतर्फ १ र निजीतर्फ १ गरी कुल २ सय १४ विद्यालय परीक्षामा सहभागी हुँदैछन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment