मोते साहिँलो

12596180_1063354030374827_1563986109_n

-एकु घिमिरे
होलीको सडकलाई टिपेर
भकुण्डोको आवरणमा गाँसेको अस्कोट
आपैंmले सिलाएको कपाल नछोप्ने टोपी
बर्षाको खरुकीजस्तै झप्प आँखिभूइँ
तराइको इनारजस्तो आँखा
माटोजस्तो दाँत
अचारमा पलाउने ढुसीजस्तो दारी
काँधमा हातेकलको भारी
दार्जेलिङको रेलजस्तै बाटोभरी धुवाँ छोड्दै
हरेक साल उनैले लिएर आउथे
सिकुवासम्म हाम्रो दशैं ।

जुका हिंडेजस्तै नापिन्थे औंलाले कपडा
बिना उच्चारण सुरिलो लोकभाका गुनगुनाउँदै
दौरा, कमेज, चौबन्दीहरु बनाउँथ्यौ
टोपी, बोटिस र कट्टुहरु सिलाउँथ्यौ ।
हजुरआमालाई आफ्नै अनुहारजस्तो थैली
जापानिज रेडियोलाई चिटिक्क खोल
पंण्डित हजुरबालाई शास्त्र बोक्ने झोला
अनि देवी पूजालाई राता ध्वाजाहरु बनेपछि
भित्रिन्थ्यो हाम्रो दशैं घरभित्र
तर उनी कहिल्यै पसेनन् हाम्रो घरमा
अनि गएनन् देविथानको मन्दिर ।

उनले नरसिङ्गा पूmकेपछि मात्र बरियाँत हिंड्थ्यो
उनले सनैमा सुर भरेपछि मात्र रोपाइँ शुरु हुन्थ्यो
अन्तु महोत्सवमा उनै थिए पन्चे बाजाका नाइके
सम्पूर्ण विदेसी पर्यटकका आकर्षण
तर किन आकर्षित भएन यो समाज तिमीसँग ?
किन खुशी भएनन् लक्ष्मी र सरस्वती ?
किन माया गरिह्यो अवाभ, गरिबी र कुरितिले ?

तिमी संसार छोडेर कता पुगिसक्यौ
तैपनि दशैं आइरहन्छ तिम्रै याद बोकी
पन्चे बाजा घन्किदा,
महोत्सब लाग्दा
खोजिरहन्छन् आँखा
मोते साहिँलाई ।

Facebook Comments

Related posts

Leave a Comment