सरसफाईमा उत्कृष्ट ५ विद्यालय पुरस्कृत

संगीता राई

खोटाङ १० चैत । खोटाङ जिल्लामा सरसफाईको क्षेत्रमा उत्कृष्ट स्थान प्राप्त गर्ने पाँच विद्यालय पुरस्कृत भएका छन् । कालिका मावि नेर्पा–२, जनता निमावि नेर्पा–८, जालपा मावि नुनथला–४, सरस्वति उच्च मावि दिक्तेल–४ र कालिका मावि खार्मी–७ पुरस्कृत भएका हुन् ।

सरसफाईका क्षेत्रमा उत्कृष्ट बनेकामा विश्व पानी दिवसको अवसर पारेर मङ्गलबार विद्यालयलाई पुरस्कार प्रदान गरिएको खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष धनप्रसाद गिरीले जानकारी दिए । उत्कृष्ट विद्यालयलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्का, जिल्ला शिक्षा अधिकारी केशव दाहाल लगायतले कालिका माविलाई १२ हजार ४सय २०, जनता निमाविलाई ११ हजार ९ सय २०, जालपा माविलाई ११ हजार ४सय २०, सरस्वति उच्च माविलाई १० हजार ९ सय २० र कालिका माविलाई १० हजार ४ सय २० रुपैयाँकासाथमा प्रशंसापत्र प्रदान गरेका छन् ।

सन् २०१५ अप्रिलदेखि २०१६ मार्चसम्म सञ्चालित ‘विद्यालय सरसफाई स्वच्छता प्रबद्र्धनका लागि नागरिक आवाज’ कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमध्येबाट उत्कृष्ट छनौट गरी पुरस्कृत गरिएको जनाइएको छ । महासङ्घले जिल्लाका ३० विद्यालयमा नागरिक आवाज कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सदरमुकाम दिक्तेलस्थित जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्वच्छ पानीको महत्व, संरक्षणका विषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा अतिथि तथा सहभागीबीच होलीसमेत खेलिएको थियो ।

Facebook Comments

Related posts

Leave a Comment