इतिहासको एक कालो वकपत्र

santipria bandana

 

–शान्ती प्रियबन्दना

हामीलाई लडाएर एकआपसमा
कुन युद्ध जित्ने ताकमा छौ तिमी ?
हामी अलग होइनौ
बास बसेर जहाँ भए पनि
डुबेर स्मृतिको गहन गर्भमा
हाम्रो आफ्नो रमणीय अतित्लाई
खोज्नु पर्ने बेला आएको छ ।

मार्गदर्शक भइ दिएको भए गतिलो
सकिन्थ्यो मेटाउन
कन्दमूलले पनि भोक
छोप्न सकिन्थ्यो
घरबुनाले समेत लाज
समयको बेगलाई चिन्न
सकेको भए
सुन फलाउन सकिन्थ्यो पखेराहरुमा
चाँदी टल्काउन सकिन्थ्यो बगरहरुमा
यसर्थ
भालेको डाकोसंगै
किन भासिनु पथ्र्यो र मुग्लान ?
तिम्रो सिमानाहरुको पहरेदारी गर्न ।

साँवा अक्षरको खाँचोको बेलामा
आफ्ना सन्तानहरुलाई
ऊ आफै युद्धको कला सिक्दै थियो
कलमको राँको समाएर,
चेतनाको दीप जलाउँदै र
यसको महत्व बुझाउने समयमा
ऊ बन्दुकमा गोली भर्दै थियो
काँधमा राखेर
सन्ततीहरुलाई जीवनका क्षितिजहरु
देखाउने बेलामा
ऊ तिम्रो माटोमा परेड खेल्दै थियो ।

खोजेको त हो आफ्नै माटोको गन्ध
चिसो हिमाली हावाको स्पर्ष
बारीको डिल र
आगनमा उम्रिएका मखमली, पारिजात र
गोदावरीेहरु फक्रदाँको सुभाषको मिठास
र मुटुमा राखेको हो
आफ्नै देशको तस्विर
र पटक पटक साटेको हो
आफ्नै देशसंग स्पन्दन
तर पनि,
रहे केही वाध्यताहरु उसका
र त स्वीकार्यो तिम्रो गुलामी ।

ऊ त मात्रै प्रतिनिधि न हो
जीन्दगीको उर्जावान समय
तिम्रो माटोमा बिताउने
वास्तवमा हामीले सिंचेको हो
रगत र पसिनाले
तिम्रो देशको माटो
र त उर्वर हुन पुग्यो
त्यही उर्वरताको बलमा,
तिमी मिच्दै छौं
हाम्रा सिमानाहरु
र पाल्दै छौ विस्तारै
हामीलाई नै निल्ने चाहना ।

यो हाम्रो दावीमात्र होइन कटु यथार्थ हो,
हाम्रा आफ्नाहरु
हाम्रै माटोमा फर्किने हो भने
तिमी तिमी रहँने छैनौ
तिम्रो तिम्रो रहने छैन
तर हामी भने
अजय भएर जीउने छौ ।

तसर्थ
तिम्रो देशको सुरक्षाको लागि
जो प्राणको बाजी लगाउँदै
गोली थापिरहेका छन् छातिमा
तोप गोलाको पर्वाह नगरी तिम्रो
स्वतन्त्रताको प्रतिक झण्डा फहराईं रहेकाछन्
घना जंगल वा शिखरहरुमा
तिमी भने,
उनैका सन्तानहरुको आन्द्रा सुकाएर
वेकाम युद्ध
जित्ने तरखरमा छौ ।।

Facebook Comments

Related posts

Leave a Comment