पर्यटन प्रवद्र्धनको रणनीतिक योजना बन्दै

सिबी अधिकारी
काठमाडौं । भूकम्पले भत्काएका भौतिक पूर्वाधार मर्मत सम्भार तथा पुनःनिर्माणसँगै पर्यटन प्रवद्र्धनका लागि सरकारले विशेष रणनीतिक योजना अघि सारेको छ ।

Nepal trekkingपर्यटकीय गन्तव्यको विकाससँगै थप नयाँ गन्तव्यको प्रवद्र्धन गरी अधिक पर्यटकीय लाभ लिनेगरी कार्ययोजना ल्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पपछि थलिएको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन रणनीतिक योजनाको अन्तिम तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले पर्यटन प्रवद्र्धनका लागि पर्यटन रणनीतिक योजना बनेको र यसलाई चाँडै लागू गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

“नेपालका सम्भावित पर्यटकीय गन्तव्य थुप्रै छन् त्यस्ता ठाउँको प्रवद्र्धन गर्ने कार्ययोजना बनाएर उनीहरुको बसाइ लम्ब्याउने र खर्च बढी गराउने गतिविधिलाई प्राथमिकताका साथ सञ्चालन गर्ने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सहुलियत ऋण, कर छुटजस्ता कार्यक्रम ल्याइनेछ,”–उहाँले भन्नुभयो । प्रवक्ता सापकोटाका अनुसार भूकम्पबाट प्रभावित ११ जिल्लाको पर्यटनलाई पुनरुत्थान गरी पूर्वअवस्थामा फर्काउने पुनःनिर्माण र नवनिर्माणका कार्यक्रमलाई तीव्रता दिइनेछ । गत वैशाख १२ गते गएको ७।६ रेक्टर स्केलको भूकम्प र त्यसपछिका परकम्पका कारण पर्यटन क्षेत्रले सबैभन्दा बढी क्षति व्यहोरेको छ ।

भूकम्पबाट सांस्कृतिक सम्पदा र विभिन्न पर्यटकीय गन्तव्यसहित रु एक खर्ब एक अर्ब क्षति भएको मन्त्रालयले जनाएको छ । पुनःनिर्माणका लागि रु ६० अर्ब चाहिनेछ । सरकारले पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमका लागि तत्काल रु ६० करोडको कार्ययोजना अघि सारेको छ । पर्यटन मन्त्री कृपाशूर शेर्पाको अध्यक्षतामा गठित राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएको छ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि हालै ‘नेपाल पूर्ववत् विश्वको सर्वोच्च शिखरमा’ नारा र सांस्कृतिक सम्पदा, हिमाललगायतको प्रतीकचिह्न सार्वजनिक गरेको थियो ।

त्यस्तै, सरकारले विमानस्थल निर्माण र क्षमता विस्तारका लागि रु ११ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल र बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएको छ । लामो समय अवरुद्ध बनेको पर्वतीय पर्यटन र भूकम्पपछि थलिएको पदयात्रा पर्यटन पुनः सञ्चालनका लागि नेपाल पर्वतारोहण सङ्घको सहकार्यमा पर्यटन मन्त्रालयले बिग्रेका पदमार्ग सञ्चालनका लागि काम गरिरहेको छ । सगरमाथाको आधार शिविरमा २०७१ वैशाख ५ गते गएको हिमपहिरो र २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण मुलुकको प्रमुख पर्यटकीय आधार पर्वतीय पर्यटन पुनः सञ्चालनमा आउन नसक्दा राज्यलाई करोडौँ घाटा भएको छ । त्यस्तै, अर्को महत्वपूर्ण पर्यटनको आधार मानिने पदमार्गहरु भूकम्पले केही भत्काएकाले तीनलाई भर्खरै मात्र सञ्चालनमा ल्याइएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सरकारले चालु आवका लागि पर्यटन मन्त्रालयलाई रु १५ अर्ब बजेट विनियोजन गरेको छ । प्रवक्ता सापकोटाले अहिलेको पर्यटन प्रवद्र्धनात्मक प्राथमिकता भनेको ‘नेपाल भ्रमणका लागि सुरक्षित छ, पर्यटकहरु सहज रुपमा घुम्नसक्छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा पु¥याउनका लागि प्रचारात्मक कार्यक्रम’लाई तीब्रता दिइएको उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणिराज लामिछानेले भूकम्पपछिको पर्यटनलाई अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक सन्देश प्रवाहका लागि विभिन्न गतिविधि बढाइएको बताउनुभयो । सगरमाथामा आएको हिमपहिरो, भूकम्पले भत्काएको संरचना र पछिल्लो तराई आन्दोलनले पर्यटकको आवागमनमा ९स्थलगत० अवरोध पुगेको छ । वार्षिक आठ लाख पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । तीमध्ये पाँच लाख हवाई र बाँकी स्थलमार्ग हुँदै आउने गरेको नेपाल पर्यटन बोर्डको विवरण छ ।

Source: Shikharpost

Facebook Comments

Related posts

Leave a Comment