भुइँको धागो- कविता

प्रथा
  प्रथा

 

 

 

 

 

 

 

 

 

उमेरसँगै अग्लिएको

यो जीवनको लाँकुरी बोटबाट

किन झरिरहेछन्

विश्वासका सप्तरङ्गी बसन्तहरू ?

सपना फुल्नु अगावै

मनको यो हरियो जङ्गलभित्र

कसले नचाउँछ आगो

र धुवाँसँगै उडिरहेछन् रहरहरू ?

……………….

ए हिङमाङ बा ! भ

न्नोस् न –

कहाँ हराउँछन्

सिर्जनाका अनन्त इन्द्रधनुषहरू ?

कसरी सुकिरहेछ

पसिनाको नीलो तिनाउखोला ?

र यो देशको बहीखातामा

फेल भइरहेछन् श्रमिकहरू ! .

……………….

जसका नाभीमा झुन्डिएर

तुइन तरिरहेछ सिंहदरबार

तिनै आनिकहरू

किन अनुत्तीर्ण टाँसिरहन्छन्

सूचनापाटीको निधारमाथि ?

जसका विप्रेषणको बजेटले

खास्टो ओढिरहेछ

तिनै गोथुरामहरूको नाम

चकको कलिलो धुलोझैँ

किन मेटाइरहेछ

यो गोठजस्तै निरक्षर देश ?

……………….

अँधेरीघाटमा उग्राइरहेका

यी वृद्ध दार्शनिकहरू

यतिखेर —

विश्वविद्यालयको ओढारभित्र

टुकी सल्काइरहेछन् कि

उज्यालो जलाएर खरानी पार्दैछन् ?

र त्यही खरानीको पहाडमाथि

आफ्नै अनुहार मेटाएर

किन कोरिरहेछन् विद्यार्थीहरू

सिमना भत्किएको देशको नक्सा ?

………………..

चिमालको पोथ्रामा बसेर

सोइसोइला खेलिरहेका

यी हिउँमान्छेहरूको छातीमा

दुख्छ कि दुख्दैन

बषौँदेखि पक्षघातले थलिएको यो देश ?

र आफ्नै आँशुका छालहरूमाथि

अर्कैका सपनाहरू निदाइरहेका

यी भुइँमान्छेहरूको दृष्टिले

देख्छ कि देख्दैन

यो झन्डाले अँटाउन नसकेका

आफूजस्तै किनारीकृत रङहरू ?

………………..

शीतलहरले छोपेको बाल्टिमोरमा

हस्पिटलको रोगी भुइँमाथि

एडिडाज जुत्ताको शोलजस्तै

कसले दलिरहेछ

एउटा ऊर्जाशील समयको निधार ?

वनका काफल छोडे

र यी काफलचरीका बथानहरू

फेरि किन –

विरानो ठाउँ उडिरहेछन् ?

र एक्लैएक्लै रोइरहेछ यो गाउँ !

………………….

ए रानीचरी !

यो जमीनको आलो माया चुंडाएर

तिमी किन —

चङ्गाचेट हुँदै झर्दैछौ

कुनै सुदुर मरुभूमिको बालुवामाथि ?

र यो बालकजस्तै देश

नल्कीमा बेरिरहेछ चुंडिएका सपनाहरू !

……………….

बेल्गु नूर्ड रेष्टुराँभित्र

आफ्नो उमेरजस्तै स्र्कट लाएर

आफ्नो बैँस आफै पुछिरहेकी

को हुन् ती ?

ओसिनीया शिविरको पेटीमा बसेर

झलकमानको गीत गुनगुनाइरहेको

को हो त्यो ?

आर्रलिङटन चिहानघारी छेऊ

अर्को लाश नआएको झोकमा

बालुवाटारलाई गाली गर्दै बसिरहेको

मेदनी शर्मा हो कि

यो देशको भगौडा सचिव ?

………………….

बैँसका छालहरू ओढेर

सुसाउँदै झरेको लिखु खोलाको अनुहार

कहाँ हराउँछ

सुनकोसी दोभानमा झरेपछि ?

ओ चित्रकारज्यू !

के त्यस्तो कुनै स्केच बनाउन मिल्छ ?

जसले एकैसाथ –

मेदनी शमाको पीडाको गहिराई

र मेरो संतुष्टिको ओजन

यो देशलाई देखाउन सकोस् !

…………………

यो पुरानो झन्डाजस्तै

म पनि —

अनुत्तीर्ण भएछु क्यार !

र त —

यो लटाईजस्तै देश

अदृष्य गुरुत्वले तानिरहेछ मलाई !

म सायद,

यो भुइँको धागोले बाँधिएको छु !

…………………

२०५७ जेठ २५

Facebook Comments

सम्बन्धित

One thought on “भुइँको धागो- कविता

Leave a Comment