बागलुङमा हात्तीपाइलेको जोखिम

एविसि खबर
बागलुङ, ३० फागुन । सात वर्षदेखि लगातार हात्तीपाइले रोग निवारण कार्यक्रम चले पनि रोगको परजीवी सर्ने क्रम रोकिएको छैन । जिल्ला स्वास्थ्य कार्यालयले बागलुङ अझै पनि हात्तीपाइले रोगको जोखिममा रहेको जनाएको छ । रोग निवारण कार्यक्रम सकिन लाग्दा परीक्षणमा ‘फाइलेरिया’ नामक परजीवी फेला परेको छ । स्वास्थ्य कार्यालयले आम औषधि सेवन कार्यक्रम छैठौँ वर्षमा पुग्दा गत वर्ष गरेको नमुना परीक्षणमा परजीवीको सङ्क्रमण भएका बिरामी पत्ता लागेका हुन् ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठका अनुसार जिल्लाको अमलाचौर गाविसका ३०० व्यक्तिमा गरिएको रगत जाँचमा नौजनामा हात्तीपाइलेको परजीवी पाइएको छ । छ वर्षसम्म लगातार औषधि खुवाउँदा पनि रोग निवारणको अवस्थामा नआएपछि दुई वर्षलाई कार्यक्रम थप भएको छ ।

औषधिप्रति विश्वस्त हुन नसक्नु र जनचेतनाको समेत कमीले सबै मानिस औषधिको पहुँचमा आउन नसकेको स्वास्थ्य कार्यालयको बुझाइ छ । औषधि खान योग्य सबैले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर सरोजकुमार झाले जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो रोगबाट मानिसको शरीरमा हाइड्रोसिल, यौनाङ्ग सुन्निने, खुट्टा फुल्ने, हिँडडुल गर्न नसक्नेजस्ता समस्या उत्पन्न हुने गरेको छ । नेपाल सरकारले सन् २०२० भित्र हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments

Related posts

Leave a Comment