मुद्दा छलेर आन्दोलनमा म्यानपावर व्यवसायी

]एविसि खबर
काठमाडौं,२८ फागुन । प्रहरीको हस्तक्षेपको सीधा बिरोध गर्न नसकेका म्यान पावर व्यवसायीले आन्दोलनको एजेण्डलाई निकै मोडेर प्रस्तुत गरेका छन् । उनीहरुले कामका लागि नेपाली पुग्ने प्रमुख मुलुकहरुसँग द्विपक्षीय श्रम सम्झौता गर्न सरकारलाई दबाव दिनका लागि आन्दोलन थालेको बताएका छन् ।

तर, उनीहरुको आन्दोलनको मनासाय भने प्रहरीले थालेको कारवाही अभियानलाई प्रभावित गर्नु रहेको श्रम मन्त्रालयका अधिकारी बताउँछन् । द्विपक्षीय श्रम सम्झौता नेपालले चाहेर मात्रै नहुने भन्नेमा व्यवसायी जानकार हुँदा हुँदै यो एजेण्डा उठाइएको दावी मन्त्रालय स्रोतको छ ।

मन्त्रालयका एक उच्च अधिकारीले व्यवसायीले प्रहरीको कारवाही अभियान तुहाउन सम्झौताको विषय उठाएको भन्दै यसलाई ‘देखाउने दाँत’ को संज्ञा दिए ।

वैदेशिक रोजगार व्यवसायिक संघका बरिष्ठ उपाध्यक्ष कुमुद खनाल भने आन्दोलनको पूर्वतयारी भइरहेकै अवस्थमा म्यानपावरमा प्रहरीले नियम र प्रक्रिया बिपरित हस्तक्षेप गरेको दावी गरे । द्विपक्षीय श्रम सम्झौताका लागि चरणबद्ध रुपमा आन्दोलन गर्ने मनस्थित भएपनि प्रहरीको कदम पछि छिट्टै आन्दोलनमा आउनुपरेको उनले स्वीकारे ।

गत साउनमा फ्री भिसा र फ्री टिकटको निर्णय कार्यान्वयनका लागि सरकारसँग भएको ३१ बुँदे सम्झौता कार्यान्वयन गर्न संघले गत माघ २९ गतेसम्मको अल्टिमेटम दिएको थियो ।

‘वैदेशिक रोजगारमा जे जति समस्या छन, ति सबै द्विपक्षीय श्रम सम्झौता नभएकाले उब्जिएका हुन्’ खनालले भने‘कामदारको हित हुने गरी सम्झौता गरे विद्यमान समस्या आँफैं समस्या हल हुन्छ । त्यसैले सम्झौता नभएसम्म आन्दोलन जारी रहन्छ ।’

म्यानपावर व्यवसायीहरु आन्दोलनमा उत्रिँदा आइतबारदेखि वैदेशिक रोजगार व्यवसाय ठप्प छ । विदेश पठाउने नाममा ठगी गर्नेविरुद्ध प्रहरीले कारवाही थालेपछि व्यवसायीहरु सबै म्यानपावर बन्द गरेर आन्दोलनमा लागेका छन् ।

म्यानपावर व्यवसायीले कामदारको नयाँ माग ल्याउने र पूर्व तथा अन्तिम श्रमस्वीकतिका लागि फाइल पेश गर्न छाडेका छन् । भिसा आएकाहरुको अन्तिम श्रम स्वीकृति लिएपनि अन्य काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जान हतारिएका युवा प्रभावित बनेका छन् ।

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयका प्रमुख मधुबिलास पण्डितले दैनिक १२ देखि १५ सय कामदारको श्रम स्वीकृतिका लागि फाइल पेश हुने गरेकोमा आइतबारदेखि ठप्प भएको बताए ।

अहिले संस्थागत श्रम स्वीकृतिको काम रोकिए पनि व्यक्तिगत स्वीकृतिको काम भने चलिरहेको उनले बताए ।

Facebook Comments

Related posts

Leave a Comment