कविता : अभद्रता ….

–हरिमाया भेटवाल
harimaya bhetwal
समयको सानु फुर्को समातेर
मैले सडकमा उभिनु
अभद्रता ठान्छौ भने
मैले टेकेको माटोको कसम
म अभद्र छु यतिबेला

मलाई लाखौ पटक भत्काउन आए
ऐतिहासिक दस्तावेजहरु
धार्मिक ग्रन्थहरु
गुरुबाका उपदेशहरु
घरमा बा भन्थे –आइमाई र गाई उस्तै हुन्
खुट्टा उचाल्यो भने कुटाइ खान्छन्
मैले खुट्टा उचाल्नु सट्टा
आफैलाई कोपरेकी छु कैयन पटक
मेरा चोटहरु हेरेर
बेस्सरी हाँसेकै हौ तिमी
ए भद्र पुरुस !
म अभद्र छु यतिबेला

तिमीले कोरेको लछ्मण रेखालाई
मैले आमाको कात्रौ किन्न जाँदा तोडेकी हँ
हो म निस्किएकै हुँ मध्यराती
जुनकिरीहरुको साथ लागेर

ए भद्र पुरुस !
तिमी जुनसुकै उपमा दिन सक्छौ
म यो भत्किएको मैजस्तो सडकमा
उभिएकी छु यतिबेला
मलाई हेरेर बज्न बिर्सिएको छ घन्टाघरले
सडकभरि बलेको छ रङगीन बिजुली
तिमी जुनसुकै रङको देख मलाई
म रङगीन सपनाको कुम्लो हुँ यतिबेला
ए भद्र पुरुस म अभद्र छु यतिबेला

तिमीलाई थाहा हुनु पर्छ
असाध्यै गर्मी बढेपछि बादलले पनि पानी बोक्छ
निस्पट्ट अँध्यारो रातमा
जुनकिरीको उज्यालोले पनि बाटौ देख्छ
सधै (सधै भद्रतामा त
भित्ताको फोटो उभिन सक्छ
मन्दिरको मुर्तिहरु उभिन सक्छन्
चर्चका जिसस उभिन सक्छन्
मस्जिदका अल्ला उभिन सक्छन्
त्यो पनि भुइँचालो नआउन्जेल सम्म मात्र ।

Facebook Comments

Related posts

Leave a Comment