कविता : सिता वाणी

– प्रनिका कोयु

pranika koyee

सदियौंसम्मको मौनता तोडेकी छु
मेरो जिवनगाथा तपाईको जानकारी जाँच्दै छु

शिवधनु,
राम बलशाली थिए वा हतियारले लडाकु चिन्यो?
कि मैले खुसुक्क थाहा दिए
आखिर पूजा त म गर्थें नि दिनानुदिन

वनवास,
कहाँ दरबारिया किचलोभित्रको बुहार्तन
कहाँ तिन जनाको बसाई कोशौं टाढा
अनि किन नजानु लुरुलुरू छाँया हुँ तिम्री भनी

लक्ष्मणरेखा,
त्यो रेखा हो घ्वाईं खेलेजस्तो
गोटी जान्छ कहिलेकाहीं आफैं बाहिर
एक ढिठ जोगी त बहाना थियो

अग्नि परिक्षा,
जिउँदै जलाउने लोग्नेको रहर
म मरेर बाँचेको दिन
को आफ्नो शुभचिन्तक चिनें त्यही दिन

धोबी,
विचरा एउटा निमित्त बन्यो
शंका र कुण्ठाले जल्ने मेरो लोग्ने
निर्वासन त खासमा हाम्रो पारपाचुके थियो

लव–कुश,
मैले जन्माएकी हुँ
रामले सकारेका हुन्
अरू कुरा पत्ता लगाउनु न आफैं

आत्महत्या,
त्यस्तो लाग्छ नि सबैलाई !
उन्मुक्त आकाशमुनि आफु भइ बाँच्न
रेखा, आगो र अप्तिकबाट टाढा यायावर जिन्दगी बाँच्न
म भुमिगत भएँ

अनि आज यो पत्र
म माथिको विश्लेषण पुग्यो भन्न
त्यो बेलादेखी आजसम्म यो उत्सुकता मेट्न
म मात्र सिता हुँ भन्न !

Facebook Comments

सम्बन्धित

Leave a Comment