कविता: अघोषित-जीवन युद्द

सरस्वती श्रेस्ठ "सरु "
सरस्वती श्रेस्ठ “सरु “

छोरी!

तिमी मेरै मुटुको एक अंश हौ
तिमीलाई
हिउँको चिस्यानमा उभिन
पहाडको ढुंग्यानीमा उभिन
तराइको मैदानी रापमा उभिन
आफ्नै जरा हालिदिएकी छु
आफ्नो जरालाई बलियोसँग
स्थापित गर्न
तिम्रो आफ्नै सामर्थ्य हुनुपर्छ
टेक्नुपर्छ तिमीले निर्बिघ्नताकासाथ
फैलाउनुपर्छ जराका आयतनहरु
फैलाउनुपर्छ सुदृढताका हाँगाबिँगाहरु्
मुस्कुराउँदै मुस्कुराउँदै कोपिलामय दुखसुखहरु
तिम्रो सुन्दरता चिहाउने कौसिहरु छन्
तिम्रो दुर्बलता प्रष्ट्याउने सुनामिहरु छन्
तिम्रो बिचारलाई खोल्स्याउने कुविचारहरु छन्
छन् यत्रतत्र तिम्रो दुश्मनहरु छन्
सिक्नु दुश्मनबाट नै
जीवनका हिसाबकिताबका सूत्रहरु
याद राख्नू
जीवनमा घट्ने दुख्खका गुणाहरु
सुख्खका भागाहरु
र जोडघटाउका बिबिध रङ्गहरु

उखेल्न खोज्लान् तिम्रा जराहरु कमजोर भए कसैले
हल्लाउन खोज्लान् तिम्रो बिचार दुर्बल भए कुसमयले
उडाउन खोज्लान् तिम्रो विश्वासको आँचल फितलो भए हावाले

त्यसैले
छोडिदिएकी छु तिमीलाई
आत्मनिर्भर रहन आफैमा
आत्मविश्वास बढाउन आफैमा
लड्नु छ तिमीले
जीवन-युद्दको रणमैदानमा
अघोषित जीवन-युद्द
जारी राख्नु छ सृष्टिको शृंखला अटुट अटुट |
२०७२/११/२०

Facebook Comments

Related posts

Leave a Comment