परिवार नियोजन र गर्भपतन

डा. पुष्पा चौधरी

नेपालमा परिवार नियोजन कार्यक्रम सुरु भएको ५७ वर्ष लागेको छ । यसको नेतृत्व गैरसरकारी संस्था नेपाल परिवार नियोजन संघले लिँदै आएको छ । यद्यपि, पछिल्लोपटक सरकारले समेत यसमा सहकार्य गरेको छ । साढे पाँच दशक लामो यात्रामा परिवार नियोजनको क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छ । परिवार नियोजनकै कारण शिशुमृत्युदर र मातृमृत्युदर उल्लेख्य रूपमा घटेको छ । त्यसो त नेपालमा परिवार नियोजनको उपलब्धि दुईवटा सूचकले निर्धारण गरेको पाइन्छ । एउटा प्रजननदर र अर्को परिवार नियोजनको साधनको प्रयोगदर । अहिले परिवार नियोजनका आधुनिक साधनको प्रयोगदर ४७ प्रतिशत पुगेको छ । ३० वर्षअघि यो संख्या नौ प्रतिशत मात्रै थियो । अझ परम्परागत विधिको प्रयोग गर्नेको संख्यासमेत जोड्ने हो भने साधन प्रयोग गर्ने दर ५० प्रतिशत पुगेको भन्न सकिन्छ । आधुनिक साधनमा खाने चक्की पिल्स, संगिनी सुई, इम्प्लान्ट र कपर्टीजस्ता साधन पर्छन् । कन्डम पनि महत्त्वपूर्ण साधनमा त पर्छ, तर यसलाई कम भरपर्दो मानिन्छ । त्यस्तै परम्परागत विधिमा यौनसंसर्गका वेला वीर्य बाहिर स्खलन गर्ने विधि, दिन गनेर यौनसम्पर्क गर्ने विधि अर्थात् ‘क्यालेन्डर मेथड’ आदि पनि प्रचलित छन् । तर, बाँकी ५० प्रतिशतले अहिलेसम्म कुनै विधि अपनाएका छैनन् । यो हाम्रा लागि चुनौतीको विषय हो।

साधनहरूले पनि समस्या
परिवार नियोजनका अस्थायी साधनमध्ये अधिकांश महिलाका लागि मात्रै प्रयोग गर्न मिल्नेछन् । पिल्स, कपर्टी, नरप्लान्ट, संगिनी सुईलगायत साधनहरू महिलाले प्रयोग गर्ने हुन् । पुरुषका लागि त कन्डम र स्थायी बन्ध्याकरण मात्रै हो । त्यसैले प्रयोगदरमा कमी भएको हो कि भन्ने लाग्छ । अधिकांश महिलामा कुन साधन छनोट गर्ने भन्ने न ज्ञान छ न त क्षमता नै ।
अहिलेसम्म परिवार नियोजनको साधन भनेको बच्चा नपाउने वा कम पाउनेका लागि प्रयोग गरिने साधन भन्ने पनि बुझिएको छ । यो शिशु तथा मातृस्वास्थ्यका लागि लाभदायक छ भनेर जानकारी दिन सकेनौँ । यी साधन प्रयोग गर्दा अन्य फाइदाहरू पनि हुन्छन् । खाने चक्की औषधिका रूपमा पनि प्रयोग हुन्छ, महिना गडबड हुने समयमा, नहुने वेलामा पनि यो औषधि प्रयोग हुन्छ । महिनावारीका वेला बढी रगत जाँदा यो औषधिका रूपमा पनि प्रयोग हुन्छ । साधन प्रयोग गर्दा भर्खर जन्मेको बच्चालाई मद्दत पुग्छ भन्ने धेरैलाई थाहा छैन । दुईवटा बच्चाको बीचमा आवश्यक जन्मान्तरका लागि यो साधनले काम गर्छ भन्ने पनि धेरैजसोलाई थाहा छैन ।family-planning

लक्षित समूहमा कम प्रयोग 
परिवार नियोजनका अस्थायी साधन युवा तथा किशोर–किशोरीलाई लक्षित गरी ल्याइएको हो । तर, ती लक्षित वर्गले नै कम प्रयोग गर्ने देखिएको छ । सरकारले हालै गरेको एक सर्भेका अनुसार नेपालमा ३० वर्षमुनिका महिला–पुरुषको संख्या ५६ प्रतिशत छ । तर, तिनीहरूमा साधनको प्रयोगदर पहिलो बच्चा पाउनुअघि १२/१३ प्रतिशत छ । पहिलो र दोस्रो बच्चाबीच अन्तराल राख्ने पनि मात्रै १२/१३ प्रतिशत मात्रै छ । यसले ८८ प्रतिशत युवा साधनको प्रभावकारी प्रयोग गर्दैनन् भन्ने देखाएको छ ।

स्थायीभन्दा अस्थायी साधन प्रभावकारी 
अहिले कतिपय महिला तथा पुरुषहरू रिक्यानलाइजेसन अर्थात् बन्ध्याकरण उल्ट्याउन भन्दै अस्पताल तथा क्लिनिक धाउन थालेका छन् । भूकम्प, सुनामी आएर धेरै हताहती हुँदा यसरी बन्ध्याकरण उल्ट्याउने गरिन्छ । यो नेपालको मात्रै होइन, विश्वव्यापी चलन हो । तर, हामी के भन्छौँ भने, यसरी स्थायी बन्ध्याकरण गर्नुभन्दा अस्थायी गरेको राम्रो ।

साधनका रूपमा गर्भपतन 
अहिले कतिपय अविवाहित युवा तथा किशोर–किशोरी पनि यौनक्रियामा संलग्न हुने गरेको पाइएको छ । कतिपयले त अस्थायी साधन नै प्रयोग नगरी समस्या भए गर्भपतनको उपाय रोज्ने गरेको समेत देखिएको छ । त्यसमा औषधिद्वारा गरिने गर्भपतन बढी देखिन्छ । यो नपढेका र थाहा नभएकाले होइन, पढेलेखेका र जानेबुझेकाले गर्ने गरेका छन । जुन अत्यन्त गलत हो ।
सरकारले यसपटकदेखि नि:शुल्क गर्भपतन सेवा सुरु गरेको छ । यो सेवा ती व्यक्तिलाई लक्षित हो, जो समस्यामा परेका वेला पैसा नभएर अनिच्छित रूपमा गर्भधारण गरिहेका हुन्छन् । त्यस्तो केसलाई सम्बोधन गर्न नि:शुल्क गर्भपतन सेवा दिएको हो ।

(चौधरी स्वास्थ्यसेवा विभाग परिवार स्वास्थ्य महाशाखाका निर्देशक हुन्)

 Nayapatrika

Facebook Comments

Related posts

Leave a Comment